सडक विस्तारसँगै जोलजिवि मेलामा घोडाको व्यापार घट्दै, पुरानो रौनक हराउँदै

दार्चुला । कुनै समय सयौँ घोडाको खरिदबिक्री हुने दार्चुलाको ऐतिहासिक जोलजिवि मेलामा अहिले जुम्ली घोडाको व्यापार खुम्चिँदै गएको छ। गाउँगाउँसम्म सडक विस्तार भएपछि घोडाको आवश्यकता र माग घट्दै जाँदा पुस्तौँदेखि चल्दै आएको परम्परागत व्यापारसमेत प्रभावित हुन थालेको छ।

बाजुराको स्वामीकार्तिक गाउँपालिका–२ का सत्यराज शाही यस वर्ष पाँच घोडा लिएर जोलजिवि मेला पुग्नुभएको छ। कात्तिक १६ गते घरबाट हिँड्नुभएका उहाँ मङ्सिर ३ गते मेला पुग्नुभएको हो। २०४२/४३ सालदेखि घोडा व्यापार गर्दै आउनुभएका शाहीले कुनै समय यही मेलामा २० देखि २२ वटासम्म घोडा बिक्री गरेको अनुभव सुनाउनुहुन्छ। तर, अहिले पहिलेको जस्तो व्यापार नभएको उहाँ बताउनुहुन्छ।

यस वर्ष नेपालबाट छ जना व्यापारीले २७ वटा घोडा मेलामा ल्याएका छन्। घोडाको मूल्य नेपाली ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा बढी पर्ने गरेको छ। घोडाको अवस्था, उमेर, क्षमता र खरिदकर्ताको आवश्यकताअनुसार मूल्य निर्धारण हुने गर्छ। शाही मङ्सिर १० देखि १२ गतेसम्म मेलामा बसेर व्यापार गर्ने योजनामा हुनुहुन्छ।

कुनै समय जोलजिवि मेलामा पाँचदेखि छ सयसम्म घोडा पुग्ने गरेको स्थानीयको स्मरण छ। तर, पछिल्ला वर्षमा घोडाको सङ्ख्या र खरिदबिक्री दुवै घट्दै गएको छ। २०७५ सालमा ३५ घोडा मेलामा ल्याइएकामा १३ वटा मात्रै बिक्री भएका थिए। २०७६ सालमा चार जना व्यापारीले २४ घोडा ल्याउँदा दुई वटा मात्रै बिक्री भएको समाचार सार्वजनिक भएको थियो।

स्थानीय बहादुर चन्दका अनुसार हुम्ला, जुम्ला र बाजुराबाट घोडा मेलामा ल्याउने गरिन्छ। घोडा नआए मेलाको रौनकसमेत नहुने उहाँ बताउनुहुन्छ। वर्षौंदेखि नेपाली व्यापारीले घोडा ल्याउने र भारतीय ग्राहकले खरिद गर्ने परम्पराले मेलालाई छुट्टै पहिचान दिएको उहाँको भनाइ छ। तर, सडक विस्तारसँगै घोडाको खरिदबिक्रीमा कमी आएको उहाँ बताउनुहुन्छ।

पहिले सडक नपुगेका दुर्गम गाउँमा सामान ढुवानी गर्न र आवतजावतका लागि घोडा अनिवार्यजस्तै थियो। विवाह तथा अन्य सामाजिक अवसरमा समेत घोडाको प्रयोग हुन्थ्यो। अहिले सडक पुगेपछि यातायातका साधनले घोडाको ठाउँ लिन थालेका छन्। सडकले मानिसको जीवन सहज बनाए पनि घोडापालन र त्यससँग जोडिएको परम्परागत व्यापार भने सङ्कटमा पर्दै गएको छ।

जोलजिवि मेला घोडाको व्यापारका लागि मात्रै नभई नेपाल र भारतबीचको पुरानो व्यापारिक तथा सांस्कृतिक सम्बन्धको पहिचानसमेत हो। तर, कुनै समय मेलाको मुख्य आकर्षण बनेको जुम्ली घोडाको व्यापार घट्दै जाँदा त्यससँग जोडिएको परम्परा जोगाउने चुनौतीसमेत बढ्दै गएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

नेपाल–भारत सहमति कार्यान्वयन गर्न उच्चस्तरीय अनुगमन समूह पुनः सक्रिय पारिने

२०८३ मंसिर ७, सोमबार १८:४० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?