दार्चुला । सामुदायिक ग्रामीण विकास समाज नेपाल (सीआरडीएस नेपाल) को ३३औँ वार्षिक साधारण सभा तथा विभिन्न परियोजनाको सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ।
वि.सं. २०४९ सालमा स्थापना भएको संस्थाले खलंगास्थित भावना सभा हलमा साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम आयोजना गरेको हो। संस्थाका कार्यसमिति सचिव प्रेम चुनाराको अध्यक्षता तथा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडु कश्यपको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको संस्थाका वरिष्ठ लेखा तथा प्रशासन अधिकृत मोहित सिलालले जानकारी दिनुभयो।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक अशोक राज ओझाले स्वागत मन्तव्य राख्दै तीन दशकभन्दा लामो समयदेखि दार्चुलाका दुर्गम बस्ती तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि संस्थाले गर्दै आएका कामबारे जानकारी गराउनुभएको थियो।
साधारण सभासँगै संस्थाद्वारा सञ्चालित विभिन्न परियोजनाको सामाजिक लेखापरीक्षणसमेत गरिएको थियो। सामाजिक लेखापरीक्षणका क्रममा स्थानीय सरकार, सरोकारवाला निकाय, पत्रकार तथा परियोजनाका लक्षित वर्गका प्रतिनिधिहरूबाट कार्यक्रमको प्रभावकारिता, पारदर्शिता र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा सुझाव संकलन गरिएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामी, दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल, उपाध्यक्ष शान्ति बम, मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष कल्यान सिंह धामी तथा महाकाली नगरपालिका–९ का वडाध्यक्ष गजेन्द्र सिंह कार्कीको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश चन्द्र मिश्रको तर्फबाट प्राप्त विशेष शुभकामना सन्देशसमेत वाचन गरिएको थियो। सन्देशमा संस्थाको ३३ वर्षे यात्रामा साथ दिने संस्थापक, पूर्व नेतृत्व, कर्मचारी, साझेदार संस्था तथा स्थानीय समुदायप्रति आभार व्यक्त गरिएको थियो। साथै, आगामी दिनमा संस्थालाई अझ पारदर्शी, प्रविधिमैत्री र जनमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागी अतिथि तथा सरोकारवालाहरूले सीआरडीएस नेपालले कृषि, जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, खानेपानी, सुशासन तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले संस्थाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तहसँगको समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउन सुझाव दिएका थिए

धामी लोकदर्पण मिडियाका कार्यकारी सम्पादक हुन् ।





प्रतिक्रिया