दार्चुला । शैल्यशिखर नगरपालिकाको वडा नम्बर ७ बोहोरीगाउँ, बन्तोलीमा बुधबार राष्ट्रिय प्रसारण लाइनको विद्युत चार्ज गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुला अन्तरगत गोकुलेश्वर कार्यालयका प्राविधिकहरुको उपस्थितिमा बन्तोलीमा जडान गरिएको ५० केभिए ट्रान्सफर्मर चार्ज गरिएको स्थानीय प्रेमपल्लब जोशीले बताउनुभयो ।
केहि समयभित्रै बोहोरीगाउँ, बन्तोली गाउँमा विद्युतीकरण सम्पन्न गरेर बिजुली बाल्ने उद्धेश्य अन्तरगत ट्रान्सफर्मर सफल चार्ज गरिएको प्राविधिक सुरेश भट्टले बताउनुभयो ।
बन्तोली र बोहोरीगाउँका सबै घरमा विद्युतीकरण भए दुई सय बढी घरधुरीमा बिजुली बल्ने स्थानीयले बताएका छन् । तत्काल झण्डै ७० घरधुरीमा बिजुली बल्ने र केहि समय भित्रै बाकी घरधुरीमा समेत विद्युतिकरणको काम सम्पन्न गरेर गाउँभरी बिजुली बल्ने प्राविधिक भट्टले बताउनुभयो ।
गाउँमा राष्ट्रिय प्रसारणको ट्रान्सफर्मर चार्ज भएसंगै छिटै गाउँमा बत्ती बलेर झिलिमिलि हुने भन्दै स्थानीय हर्षित भएका छन् । अहिले विद्युतिकरणको काम भइरहेको र विद्युतिकरण भइसकेका घरधुरीले विद्युत मिटरका लागि आवेदन फाराम भर्ने काम गरिरहेको स्थानीय प्रेम जोशीले बताउनुभयो ।

केहि दिन अघि लेकम गाउँपालिका वडा नम्बर ५ पिड र गोगुना टोलमा समेत राष्ट्रिय प्रसारण लाइनको विद्युत बाल्न ट्रान्सफर्मर चार्ज गरिएको थियो । पिड र गोगुना गाउँमा विद्युत बलेपछि ६० बढी घरधुरी लाभाबिंत हुने स्थानीयहरुले बताएका छन् ।
५० केभिए क्षमताको ट्रान्सफर्मर चार्ज भएसंगै छिटै गाउँमा विद्युत बल्ने भन्दै पिड र गोगुना गाउँका स्थानीय हर्षित भएका छन् । घरमा विद्युत मिटर जडानका लागि सिफारिससहित आवेदन फाराम तथा मिटर बुक भरेर पठाइएको लेकम गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दिपेन्द्रसिंह बोहराले बताउनुभयो ।
हालसम्म दार्चुलाको झण्डै ४० प्रतिषत घरधुरीमा विद्युतिकरण भएको छ । विद्युतिकरणमा ढिलाइ भएको जनगुनासो छ । जिल्लाको आधाभन्दा बढी जनसंख्या अहिलेपनि विद्युतबाट बञ्चित रहेकोले विद्युतिकरणको काम छिटो गर्न उपभोक्ता तथा आम नागरिकले अनुरोध गरेका छन् ।









प्रतिक्रिया