दार्चुला । दार्चुलाबाट रेफर गरिएका ३ सहित ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाको दोस्रो लहर सुरु भए यता जिल्ला अस्पताल दार्चुलाबाट अन्यत्र रिफर गरिएका ३ जना र अन्य ६ जनाको जिल्लामै ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयल दार्चुलाले जनाएको छ।
कोरोनाको दोस्रो लहर सुरु भए यता बैशाख २१ गते दार्चुलाबाट काठमाण्डौ रिफर गरिएका नेपाली सेनामा कार्यरत दार्चुलाको ब्याँस गाउँपालिका घर भएका ४५ वर्षीय सेना नायकको काठमाण्डौमा उपचारको क्रममा कोरोना संकमणको कारण ज्यान गएको थियो ।
वैशाख १५ गते जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उहाँमा कोरोना पोजेटिभ आए पछि उपचारको लागी जिल्ला अस्पताल दार्चुलामा उपचारको लागी भर्ना गरिएकोमा स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएका उहाँको काठमाण्डौमै उपचारको क्रममा ज्यान गएको थियो ।
बैशाख २२ गते मार्मा गाउँपालिका वडा नम्बर ३ का ५१ वर्षीय पुरुषको ज्यान गएको थियो । उहाँको मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा ज्यान गएको थियो । उहाँमा श्वासप्रस्वासको समस्या देखिएको थियो ।
त्यस्तै बैशाख २५ गते गोकुलेश्वर अस्पतालमा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ घर भएका एक महिलाको पनि कोरोना संक्रमणको कारण ज्यान गएको थियो । श्वासप्रश्वासमा समस्या भइ गोकुलेश्वर अस्पताल भर्ना गरिएकोमा उहाँको २५ गते बिहान मृत्यु भएको भएको थियो ।
त्यस्तै बैशाख २५ गते नै गोकुलेश्वर अस्पतालमा नौगाड गाउँपालिकावडा नम्बर ५ घर भएका ७२ बर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण ज्यान गएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि नौगाडबाट गोकुलेश्वर अस्पताल पुगाइएका उहाँको अस्पताल पुगाएको ५ मिनेटमै ज्यान गएको थियो ।
बैशाख ३० गते जिल्ला अस्पतालमा उपचारका क्रममा जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ घर भएका एक पुरुषको पनि कोरोना संक्रमणको कारण ज्यान गयो । उहाँको शरिरमा अक्सिजनको मात्रा निकै कम रहेको थियो ।
बैशाख ३१ गते जिल्ला अस्पताल दार्चुलाबाट कोरोना संक्रमित एक महिलालाई डडेलधुरा अस्पताल रिफर गरिएको थियो । उहाँको डडेल्धुरा अस्पताल पुगाएको १५ मिनेटमै ज्यान गएको थियो ।अपिहिमाल गाउँपालिका घर भइ जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ बस्दै आएका ३८ वर्षीया कोरोना संक्रमित महिलालाई फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएकोमा उहाँको पनि कोरोना संक्रमणकै कारण ज्यान गएको थियो ।
जिल्ला अस्पताल दार्चुलामै उपचारको क्रममा जेष्ठ ३ गते दुहुँ गाउँपालिका घर भइ सदरमुकाम खलंगामा बस्दै आएका एक ७२ वर्षीय पुरुषको पनि ज्यान गएको थियो । एन्टीजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएका उहाँमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।
त्यस्तै जेष्ठ ३ गते नै महाकाली नगरपालिका वडा नम्बर ७ धाप घर भएका ४६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणको कारण ज्यान गएको थियो । ति पुरुषमा पायल्सको समस्या रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
त्यस्तै जेष्ठ ५ गते बुधबार (आज) जिल्ला अस्पताल दार्चुलाबाट उपचारको लागी डडेलधुरा अस्पताल रिफर गरिएका जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५५ वर्षीय पुरुषको पनि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको छ।
जेठ १ गते कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि भर्ना गरिएको थियो । श्वासप्रस्वासको समस्या बढ्न थालेपछि दार्चुलाबाट डडेल्धुरा रेफर गरिएकोमा अस्पताल नपुग्दै बाटोमै मृत्यु हो । उहाँको शरीरमा अक्सिजनको मात्रा घट्दै गइरहेको थियो ।
यो संगै दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
अहिले सम्म जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा ३ जना कोरोना संक्रमितको ज्यान गएको छ, भने गोकुलेश्वर अस्पतालमा २ जना, मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा १ जना र जिल्लाबाट उपचारको लागी बाहिर रिफर गरिएका ३ जना गरि ९ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलामा ४ सय भन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ ।
यो पनि पढ्नुहोस : कोरोना रिपोर्ट ढिलो आउदाँ दार्चुलाका गाउँघरमा सल्किदै कोरोना
यो पनि पढ्नुहोस : डडेल्धुरा रेफर गरिएका संक्रमितको बाटोमै मृत्यु





प्रतिक्रिया