दार्चुला । स्थानीय प्रशासनले व्यास गाउँपालिकामा खाद्यान्न अभाव भएको विषयमा जानकारी गराउँदै ढुवानीको व्यवस्था मिलाइदिन आग्रह गरे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेवास्ता गरेको छ । ११ साउनमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीलाई पत्राचार गर्दै व्यास गाउँपालिका–१ मा शीघ्र खाद्यान्न आपूर्तिको व्यवस्था गरिदिन आग्रह गरेका थिए ।
तर प्रमुख जिल्ला अधिकारी जोशीले पत्राचार गरेको २० दिन बित्दा समेत कुनै सुनवाइ नभएपछि आइतबार फेरि पत्राचार गर्दै तत्काल खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । व्यास गाउँपालिका–१ मा गत वर्ष समेत सरकारबाट स्वीकृत पाँच सय क्वीन्टल चामल ढुवानी नभएको पनि पत्रका उल्लेख गरिएको छ ।
आइतबारको पत्रमा प्रजिअ जोशीले गाउँपालिका कार्यालयबाट लिखित तथा मौखिक रुपमा अनुरोध भइआएकाले हवाई सेवा मार्फत भए पनि तत्काल पाँच सय क्वीन्टल चामल र गहुँको ढुवानी गरिदिन भनेका छन् ।
‘भौगोलिक विकटता, हिमपात समेतको जोखिम र नेपालतर्फ खाद्यान्नको ढुवानीको वैकल्पिक सडक बाटो समेत नभएकाले खाद्यान्नको चरम अभावका कारण सम्बन्धित क्षेत्रका आम नागरिकलाई पर्न सक्ने कठिनाइ तथा खाद्यान्न अभावको महामारी समेतलाई दृष्टिगत गरी छिटो साधन हेलिकप्टरद्वारा तत्काल ढुवानीको व्यवस्था मिलाइदिन अनुरोध छ,’ प्रजिअले लेखेको पत्रमा उल्लेख छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले भने केन्द्रीय कार्यालयमा व्यासको समस्याबारे जानकारी गराइसकेकाले चाँडै खाद्यान्न ढुवानी गरिने बताउँदै आएको छ । एसएसबीले तुईन हटाएपछि व्यासमा खाद्यान्न संकट निम्तिएको छ । महाकाली नदीमा जय सिंह धामी बेपत्ता भएको घट्नामा मुछिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दिउँसो सीमा क्षेत्रमा निगरानी बढाएपछि मालगाउँका बासिन्दा खाद्यान्नको जोहो गर्न राति तुईन तर्न थालेका छन् । घटनाका प्रतक्षदर्शीहरुले एसएसबीले तुइन फुकालेका कारण जयसिह महाकालीमा बेपत्ता भएको बयान दिएपछि आफ्नो बदनाम गरेको भन्दै आक्रोशित बनेको एसएसबीले महाकालीमा लगाइएका सबै तुइन हटाइदिएको छ ।
सडकमार्गले दार्चुला सदरमुकाम खलंगासंग नजोडिएको व्यास गाउँपालिकाका बासिन्दा गाउँमा खाद्य संकट भएपछि दैनिक उपभोग्य सामानको जोहो गर्न राति तुईन तर्न थालेका हुन् । तुइन तर्ने ठाउँमा दिउँसो एसएसवीले निगरानी बढाएपछि गाउँमा खाद्यान्न तथा अत्यावशकीय सामानको अभाव भएको छ । दैनिक उपभोग्य सामाग्रीको जोहो गर्न सीमावर्ती भारतीय बजार जान बाध्य स्थानीय बासिन्दा रातीको समयमा महाकाली नदी ओहोर दोहोर गर्न बाध्य भएका छन् । नेपाल सरकारले सीमावासीको समस्या समाधानका लागि कुनै चासो नराखेको प्रति व्यासबासीले दुःख व्यत्त गरेका छन् । भारतीय परनिर्भरता हटाउन दार्चुला तिकंर सडकलाई छिटो निर्माण गरिदिन र तत्काल अत्यावश्यक सामानको आपुर्ती गरिदिन सरकारसंग व्यासवासीको माग छ ।
व्यास गाउँपालिका अन्तर्गत महाकाली नदीमा आधादर्जन स्थानमा तुइन सञ्चालनमा छन् । दिउँसो लुकिछिपी तुईन सञ्चालन गर्दा एसएसवीले धरपकड गर्नुका साथै तुइन काट्न थालेपछि स्थानीय बासिन्दाले राति तुईन प्रयोग गर्नुपरेको हो । सीमावर्ती भारतीय बजारमा अधिकांशका आफन्त तथा नातेदारहरु बस्छन् । तिनै आफन्तको सहयोगमा उनीहरुले भारतबाट खाद्यान्न तथा दैनिक उपभोग्य सामान जोखिम मोलेर रातको समय ल्याउने गरेका छन्। भारतबाट यातायात व्यवसायीहरुले समेत व्यासबासीलाई महाकाली किनारसम्म खाद्यान्न सामाग्री ढुवानी गर्न सहयोग गर्ने गरेका छन् । तर व्यासकै कतिपय गाउँमा भने चोरेर तारेको खाद्यान्न प्रयाप्त नहुने भएकोले स्थानीयले खाद्यान्नको अभाव खेप्नुपरेको छ ।
यो पनि पढ्नुहोस : तुइन बन्द भएपछि व्यासमा खाद्यान्न संकट, सीतापुलमा एसएसबीको ज्यादती
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया