दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दार्चुलाका आधादर्जन बढी सडक खारेज गरेको छ । केपी सर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट विनियोजन गरेका सडक योजनाबाट वर्तमान सरकारले बजेट कटौती गरेको हो। दार्चुला जिल्लाका चार वटा अन्तरपालिका जोड्ने सडक र तीन वटा गाउँपालिकाका केन्द्र जोड्ने सडकबाट बजेट कटौती गरिएको हो । केपी ओली सरकारले ल्याएका सडक योजनामध्ये वर्तमान देउवा सरकाले देशभरका एक हजार ४१० सडक योजना खारेज गरेको छ ।
दार्चुलाका खारेजीमा परेका सडक योजनाहरुमा विटुले–पारिबगर–खण्डेश्वरी सडक, भर्तोला–उकु सेरा सडक, पारिबगर–परमचुला सडक र तिमुरपाटा–बनानी सडक रहेका छन् । यस्तै गोकुलेश्वरबाट उचाकोट हुँदै लेकम गाउँपालिकाको केन्द्र जोड्ने सडक, अपिहिमाल र व्याँस गाउँपालिकाको केन्द्र जोड्ने सडकको बजेट समेत कटौती गरिएको छ । एमाले नेतृत्वको सरकारले सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडकमार्ग विस्तार गर्ने योजना अन्तरगत दार्चुलाका तीन वटा स्थानीय तहका केन्द्र जोड्ने सडक छनोट भएका थिए । पूर्व प्रधानमन्त्री केपी सर्मा ओलीले भर्चुअल माध्यमबाट पालिकाका केन्द्र जोड्ने सडकको गत आर्थिक वर्षमा उद्घाटन गरेर चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको भएपनि उक्त बजेट बर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत कटौती गरेको हो । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत छनोट भएको खलंगा-खार-देथला-विटुले–पारिबगर–खण्डेश्वरी सडकबाट समेत ६० करोड बजेट विनियोजन गरिएकोमा बजेट कटौती गरेर खारेज गरिएको प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
गाउँमा सडक पुग्ने आशा गरेका नागरिक सरकारले सडक योजना खारेज गरेपछि निराश बनेका छन् । नयाँ सरकार बनेपछि अघिल्लो सरकारले ल्याएको बजेटमा संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक ल्याउनुभएको । प्रतिस्थापन विधेयकबाट नै यहाँका ४ वटा अन्तरपालिका जोड्ने सडक र तीन वटा स्थानीय तहका केन्द्र जोड्ने सडक आयोजना बजेट नभएको भन्दै खारेज गरिएको हो ।
ओली सरकारले सडक पूर्वाधार विकास कार्यक्रम अन्तरगत सञ्चालन गरेका ७९३ र तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ६१७ सडक सिलान्यास गरेको थियो । तर, अर्थमन्त्री जनार्दन शर्माले पूर्वतयारी तथा बजेट नभएको भन्दै शिलान्यास गरिएको सडक आयोजना नै खारेज गरिदिनुभएको हो । दार्चुलाको ठूलो भूगोल समेटिएका सडकहरु खारेजीमा परेपछि वर्तमान सरकारको आलोचना भइरहेको छ ।
सम्बन्धित खबरः दार्चुलाको विकासमा काग्रेश बाधक, एमालेले सुरु गरेका योजना कटौती: गणेश ठगुन्ना (भिडियो)

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया