दार्चुला । नेकपा एमालेले सुदूरपश्चिमबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर एमालेले देशव्यापी चुनावी अभियान त्रिदेशीय सीमा नाकामा अवस्थित दार्चुला जिल्लाबाट सुरु गर्ने भएको हो ।
एमाले दार्चुलाका उपसचिव खडक बडालका अनुसार कात्तिक १८ गते पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियानको थालनी गर्ने जानकारी दिनुभयो । हेलिकप्टरमार्फत दार्चुला पुगेर ओलीले सदरमुकाम खलंगामा बिहान ११ बजे आमसभालाई सम्बोधन गरेर चुनावी अभियान थालनी भएको घोषणा गर्नुहुनेछ । ओली सरकारको पालामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर जारी गरेको चुच्चे नक्सा सार्वजनिक गरिएको थियो । अहिले यहाँबाटै अभियान सुरू गरिनुलाई आफ्नो सरकारको पालामा अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेको मुद्दालाई एमालेले यो चुनावमा सशक्त रूपमा उठाउने भनेर अर्थ लगाउन थालिएको छ ।
एमाले सरकारको पालामा चुच्चे नक्सा जारी भएको र अब एमाले नेतृत्वकै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने नेताहरु दाबी गर्छन् । कात्तिक १८ गते दार्चुलाबाट अभियान थालनी गरेपछि ओलीले सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सम्बन्धित समाचार: दार्चुलामा बडू र ठगुन्नाबिच प्रतिस्पर्धा, गणितमा एमाले बलियो, चुनाव जित्ने दुबैको दाबी

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया