
२५ माघ २०७६ काठमान्डौ,
हाई स्पिड सम्बाददाता।
काठमाडौं–पोखरा रुटमा अब चौथो वायुसेवा कम्पनी थपिएको छ । निजी लगानीको श्री एयरलाइन्सले शुक्रबारबाट पोखरामा उडान थालेको हो । पोखरामा श्रीले दैनिक दुई उडान गर्ने भएको छ । श्रीले यस रुटमा ८० सीट क्षमताको ड्यास एट क्यू–४०० जहाजबाट सेवा दिन थालेको छ ।
पछिल्लो समय पोखरा क्षेत्रिय गन्तब्यका रुपमा समेत स्थापित हुँदैछ । पोखराबाट भैरहवा, भरतपुर र जनकपुर उडानसमेत शुरु भइसकेको छ । श्री एयरलाइन्सले यसअघि भैरहवा, विराटनगर, जनकपुर, राजविराज, भद्रपुर, धनगढी र नेपालगन्जमा सेवा दिइरहेको छ ।
यो पोखरा उड्ने सबैभन्दा ठूलो क्षमताको जहाज हो । पोखरामा यसअघि बुद्ध, यति, सिम्रिक र नेपाल एयरलाइन्सले उडान गरिरहेका छन् । पोखरामा चौथौ कम्पनी थपिएसँगै हवाई भाडा समेत प्रतिस्पर्धी बन्दैछ । यस रुटमा प्रवद्र्धनात्मक भाडाका रुपमा श्री एयरलाइन्सले २ हजार रुपैयाँमै सेवा थालेको छ । काठमाडौं–पोखरा र पोखरा–काठमाडौं रुटमा २६ सय प्रवद्र्धनात्मक भाडा तोकिएको छ ।
भ्रमण वर्षको प्रवद्र्धन र पोखरामा बढ्दो माग सम्बोधन गर्दै उडान थालिएको श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । ‘पोखरामा धेरै समयदेखि श्री एयरलाइन्सको उडानको माग थियो,’ उनले भने, ‘अब नियमित भएको छ ।’ पोखरामा अन्य कम्पनीका जहाजको तुलनामा श्री एयरलाइन्सको ड्यास एट क्यू४०० जहाज कम्तिमा ५ मिनेट छिटो पुग्छ ।
शुक्रवार पहिलो उडानमा पोखरा पुगेका र पोखराबाट काठमाडौं आउने यात्रुलाई पोखरा विमानस्थलमा श्री एयरलाइन्सले स्वागत तथा विदाई गरेको थियो ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।