दार्चुला । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्र्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ ।

सरकारले कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय लिए लगतै विश्वविद्यालय आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।

भदौँबाट ७ बाट स्थगित परीक्षा शुरु हुने

यसैवीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले जानकारी दिनुभयो । स्थगित परीक्षा दशै सक्ने र दशैपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ ।

प्राध्यापकलाई पनि बोलाइयो

यसैवीच, विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्ने निर्णय गरेसँगै विदामा बसेका अध्यापकहरुलाई पनि बोलाउने निर्णय गरेको छ । विश्वविद्यालयका अध्यापकहरुलाई दिइएको विदा समेत सकिएको र अव क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ ।

क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिने भएकोले विश्वविद्यालयका अध्यापकहरुलाई पनि बोलाइएको जनाइएको छ ।

भोलिदेखि सार्वजनिक यातायात चल्ने

साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले मङ्गलबार संयुक्त पत्रकार सम्मेलन गरी आफ्ना मातहतका व्यवसायीले सेवा सञ्चालन गर्ने घोषणा गरेका छन् ।

सरकारले असार २६ गतेदेखि छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरे पनि ठूला व्यवसायी सङ्गठनले भने विभिन्न माग राखी सेवा सञ्चालन गरेका थिएनन् । तर मौद्रिक नीतिले माग सम्बोधन गरेपछि र सोमबार यातायात व्यवस्था विभागसँग वार्ता गरी थप सहमति भएपछि ८ गतेदेखि सेवा सञ्चालन गर्ने भएका हुन् ।

मौद्रिक नीतिले यातायात व्यवसायीले उठाउँदै आएका मागमध्ये बैङ्क किस्ताको पुनर्तालिका र पुनर्कर्जा सम्बोधन गरेको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्याले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले भन्नुभयो, “अब मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायी र स्वरोजगार श्रमिक मैत्री कार्यविधि आउने छ भन्ने आशा गर्दछौँ । ”
व्यवसायीले कोरोनालाई ध्यानमा राखी सरकारले तोकेको भाडा दरमा साना, मझौला, ठूला सबै प्रकारका सार्वजनिक सवारी साधन जोर–बिजोर प्रणाली अनुसार सञ्चालन गर्ने भएका छन् । कोरोना बीमाका लागि श्रमिकको विवरण सम्बन्धित कम्पनीले एक हप्ताभित्र महासङ्घको कार्यालयमा पठाउन महासङ्घले सूचना गरेको छ ।

असार २६ गते सरकारले अकस्मात् छोटा दूरीका सार्वजनिक यातायात खुला गर्दा आफूहरू अन्योलमा परेको व्यवसायीको गुनासो छ । सार्वजनिक यातायात सञ्चालन विधि, श्रमिक तथा यात्रुको स्वास्थ्य सुरक्षाबारे छलफल नै नगरी सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णयले आफूहरूलाई अन्योल बनाएको नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारीले बताउनुभयो ।
छोटो दूरी मात्र नभई मध्यम र लामो दूरीमा सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवस्था विभागले पहल गर्ने सहमति भएपछि व्यवसायी सेवा सुचारु गर्न तयार भएका हुन् ।

त्यस्तै सोमबार विभागसँग भएको छलफलमा यातायात मजदुरहरूको एक लाखको कोरोना बीमामा सरकारले ५० प्रतिशत र यातायात व्यवसायीले ५० प्रतिशत अनुदान गर्ने सहमति भएको थियो । कोरोनाका कारण यातायात श्रमिकको मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका निम्ति सरकारको तर्फबाट कोष स्थापनाका लागि विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने सहमति भएको थियो ।

यातायात मजदुरलाई स्वास्थ्य उपकरणको व्यवस्था व्यवसायीले नै गर्ने तर यात्रुको व्यवस्था स्वयम्ले गर्नुपर्ने छ । स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पूरा गरी यातायात सञ्चालन गरिने महासङ्घले जनाएको छ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात पनि छिट्टै खुला गर्नुपर्ने व्यवसायी सङ्गठनको माग छ ।

असार २६ गतेदेखि छोटो दूरीका सार्वजनिक यातायात खुला गरेपछि काठमाडौँ उपत्यकामा सुन्दर यातायातका विद्युतीय बस, मयूर यातायात, महानगर, मेट्रो, साझा लगायतका यातायात सञ्चालनमा छन् । -गाेरखापत्रबाट

याे पनि पढ्नुहाेस् : लकडाउन हट्यो, साउन १५ बाट होटल खुल्ने, भदौ १ देखि यातायात र विद्यार्थी भर्ना खुला गरिने  https://lokdarpantv.com/2020/07/21/1905/

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?