दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा फेरी तालाबन्दी गरिएको छ । वडा नम्बर ३ का जनप्रतिनिधिहरुले शुक्रबारदेखि लगाइएको ताला स्थानीयले काटेपछि सोमबार फेरी नेकपा र वडा नम्बर ३ का जनप्रतिनिधिले तालाबन्दी गरेका छन् ।
गाउँपालिकामा रहेका ११ वटै कोठामा कर्मचारी र जनप्रतिनिधि बाहिर राखेर तालाबन्दी गरिएको वडा नम्बर ३ का जनप्रतिनिधिहरुले बताएका छन् । नेकपाका कार्यकर्ता र ठूलो संख्यामा आएका स्थानीयले गाउँपालिकामा तालाबन्दी गरेको वडा नम्बर ३ का वडाअध्यक्ष उपेन्द्रसिह धामीले जानकारी दिनुभयो ।
व्याँस गाउँपालिका वडा नम्बर ३ सिनामा वडाबाट छनौट भई स्वीकृत भइसकेका योजनाहरुलाई गाउँकार्यपालिकाले शिर्षक परिवर्तन गरि रकमान्तर गरेकाले तालाबन्दी गर्नुपरेको वडाअध्यक्ष धामीको भनाई छ । योजनाको रकमान्तर गर्ने निर्णय फिर्ता गर्न भदौ १९ गते ज्ञापन पत्र बुझाउँदा समेत कुनै सुनुवाई नभएकाले तालाबन्दी गर्नुपरेको धामीले बताउनुभयो ।
गाउँपालिकामा तालाबन्दी भएपछि सोमबार बस्ने भनिएको कार्यपालिका बैठक समेत अवरुद्ध भएको छ । गाउँकार्यपालिकाले वडाका स्वीकृत योजना मनोमानि ढंगले शिर्षक परिवर्तन गरि रकमान्तर गरेको प्रति वडाका जनप्रतिनिधि र स्थानीय आक्रोसित भएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणमा भएको वास्तविक खर्च सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै नेकपाले समेत तालाबन्दीमा यक्यबद्धता जनाएको नेकपा व्याँसका अध्यक्ष जयलाल विष्टले जानकारी दिनुभयो ।
व्याँस गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेखरचन्द्र ओझाले भने गाउँपालिका भरी वितरण गर्नका लागि ल्याइएका जस्तापाता आधाभन्दा बढी वडा नम्बर ३ मा गएपछि चालु तर्फका केहि योजनाहरुको बजेट रकमान्तर गरेर विपद् व्यवस्थापन कोषमा राख्ने र सोहि रकमबाट थप जस्तापाता खरिद गर्ने निर्णय कार्यपालिका बैठकले गरेको जानकारी दिनुभयो ।
निर्णय भएको दिन वडा नम्बर तीन का वडाअध्यक्ष समेत कार्यपालिका बैठकमा सहभागि रहेको बताइएको छ । सोमबार तालाबन्दीका विषयमा छलफल गर्न गाउँकार्यपालिका बैठक बोलाइएको भएपनि वडानम्बर तीन का जनप्रतिनिधि कार्यपालिका बैठकमा बस्न तयार भएका थिएनन् ।
थप जानकारीका लागि तलकाे लिकंमा क्लिक गर्नुहाेस:
वडाअध्यक्षले नै लगाए व्याँस गाउँपालिकामा ताला, बजेट रकमान्तरमा आपत्ती, सोमबार छलफल