दार्चुला । के अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्कँदै हुनुहुन्छ ? सावधानी अपनाउनुहोस् । आफ्नो पकेटमा मास्क छ कि छैन भनेर चेक गर्नुहोस् । मास्क छैन भने १० रुपियाँमा पाइन्छ । मास्क लगाइहाल्नुहोस् । खुला बजारमा पुग्यो भने मास्क नलगाएको भन्दै प्रहरीले १० रुपियाँ पर्ने ठाउँमा १०० रुपियाँ जरिवाना उठाउन थालेको छ ।
जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गराउन प्रहरीले मास्क नलगाई हिँड्ने व्यक्तिलाई १०० रुपियाँ जरिवाना उठाउने अधिकार पाएको छ । सङ्क्रमण रोग ऐन २०२० अनुसार प्रहरीले जरिवाना उठाउने अधिकार स्थानीय प्रशासनले प्रहरीलाई दिएको छ ।
छिमेकी भारमा कोरोनाको सङ्क्रमण बढेको भन्दै जिल्ला प्रशासनले दार्चुलामा पनि स्वास्थ्य मापदण्डलाई कडाइ बनाउने निर्णय गरेको हो । मास्क नलगाई घर बाहिर हिँड्नेलाई कारवाही गर्ने भएको छ । छिमेकी देश भारतमा कोभिड–१९ सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन भन्दै प्रशासनले मास्क नलगाई बाहिर हिँड्नेलाई कारवाही गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिनुभयो ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको गत बुधबार बसेको बैठकले मास्क नलगाई हिँडेको पाइएमा सङ्क्रामक रोग ऐनबमोजिम कारवाही गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रशासनले कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भीडभाड नगर्न भनेको छ । सीमानाकाबाट आउने यात्रुको आवतजावतलाई व्यवस्थित गरी उनीहरुको अनिवार्यरुपमा अभिलेख राख्ने तथा नेपाल प्रवेश गर्ने यात्रुलाई अनिवार्य नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न पनि आग्रह गरेको छ ।
यस्तै बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्न कार्यालय र पसल जस्ता सार्वजनिकस्थलमा सेनिटाइजर वा हात धुने व्यवस्था र मास्कको प्रयोग अनिवार्य गर्न भनेको छ । यस्तै जिल्लास्थित सम्पूर्ण अन्तरराष्ट्रिय सीमानाकाबाट नेपाल प्रवेश व्यक्तिको अनिवार्यरुपमा एन्टिजेन गर्ने र सोको व्यवस्थापन गर्ने सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मी खटाउने तथा मास्क नलगाइ आउनेलाई प्रवेश निषेध गर्ने वा जरिवाना गरी मास्क उपलब्ध गराउने जस्ता निर्णय भएको छ ।
बैठकले जिल्लाभित्र पनि नमूनाका रुपमा एन्टिजेन टेष्ट शुरु गर्नका लागि स्वास्थ्य कार्यालयलाई अनुमति दिने, कोभिड– १९ को रोकथाम नियन्त्रण उपचारका सम्बन्धमा सम्पूर्ण स्थानीय तहको अनुगमन गर्ने जनाएको छ ।
सार्वजनिक यातायातमा मास्क अनिवार्य
कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा गत बुधबार भएको बैठकले सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्ने, भौतिक दूरी व्यवस्थित गर्ने र क्षमताभन्दा बढी यात्रु राख्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णयसमेत भएको छ । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई तत्काल कारवाही गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालयले सो को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ । बैठकमा दार्चुला प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरको सहभागिता रहेको थियो ।





प्रतिक्रिया