दार्चुला । दार्चुला सदरमुकाम खलंगाबाट सीमावर्ती भारतीय बजार धारचुला प्रवेश गर्न ७२ घण्टा भित्रको कोरोना नभएको (नेगेटिभ) रिपोर्ट देखाउनुपर्ने भएको छ । भारतको धारचुला तहशिलले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा आवतजावत गर्ने व्याक्तिको तीन दिन भित्रको कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरेको हो ।
तहशिल धारचुलाले झोलुङ्गे पुल छेउमा आफ्नो कोरोना नभएको रिपोर्ट देखाउन निर्देशन गर्दै सूचना टाँस गरेको छ । उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार अन्य देश वा राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनु पर्ने छ । सोहि अनुसार आइतबारबाट खलंगा झोलुङ्गे पुलमा आवत जावत गर्ने व्याक्तिले आफुमा कोरोना नभएको रिपोर्ट देखाएर मात्रै धारचुला आवत जावत गर्न पाउने नियम लागु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
कोरोनाको नयाँ भेरियन्टले मानिसहरुको मृत्यु बढी हुन थालेपछि भारत सरकारले सीमानाकामा कडाई गरेको छ । यस अघि भारतको धारचुला बजार क्षेत्रमा छ जनामा कोरोनाको नयाँ भेरियन्ट भेट्टीएपछि दिउँसो २ बजे देखी साँझ ५ बजे सम्म बजार बन्द हुँदै आएको थियो । आइतबारबाट विहानै देखी धारचुला बजारका सबै पसल र यातायातका साधनहरु बन्द गरिएको छ । अत्यावश्यक सेवा, मेडिकल र अस्पतालहरु मात्रै खुल्ला रहने तहशिल कार्यालय धारचुलाले जनाएको छ ।
सीमानाकामा कोरोना रिपोर्ट अनिवार्य गरेसंगै भारतबाट नेपाल फर्किने र दार्चुलाबाट भारत प्रवेश गर्ने नेपाली समस्यामा परेका छन् । भारतबाट नेपाल भित्रिने भन्दा पनि नेपालबाट भारत जान खोज्नेहरुका लागि बढी कडाइ गरिएको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस : दार्चुलामा मास्क नलगाएरै हिँडे १०० रुपियाँ जरिवाना, यातायातमा अनिवार्य





प्रतिक्रिया