दार्चुला । आज भदौ १ गते, बुढी हाल्ने पर्व र ओल्के सङ्क्रान्ति। सुदूरपश्चिममा हर्षोल्लासका साथ मनाइँदैछ। ओल्को भन्नाले उपहार वा कोशेली भन्ने बुझिन्छ।
दार्चुला, बैतडी सहित पहाडी क्षेत्रमा बुढी हाल्ने पर्वलाई विषेश रुपमा मनाइन्छ भने तराई क्षेत्रमा ओल्के पर्वलाई बढी महत्तका साथ मनाइन्छ । ओल्के सङ्क्रान्तिका दिन गाउँ गाउँमा उच्चो टाकुरामा सबै मिलेर रूखका हाङ्गाबिङ्गा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ । यो बूढीलाई असोज सङ्क्रान्तिका साँझ प्रत्येक घरघरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ। यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ।
भगवान् कृष्णलाई पुतना राक्षसनीले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवान्ले पुतना राक्षसनीको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको शवलाई हटाउन नसकेपछि गोकुलवासी ग्वालाहरूले टुक्रा–टुक्रा पारेको दिनको सम्झनामा आज बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ।
आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु ओल्के पर्वको विशेषता रहिआएको छ । यसका साथै बिहानै नुहाइधुवाइ गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात् उपहार दिने पनि गरिन्छ।
वर्षापछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुशीयालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको छ। यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रूपमा पनि रहिआएको छ भने यसलाई सिंह सङ्क्रान्ती पनि भन्ने गरिएको छ ।
यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर मनाइन्छ। यस्तै सुदूरपश्चिममा साउन १ गतेवाट सुरु भएको बत्ती बाल्ने महिनाको सोमबार समापन भएको छ । दार्चुला, बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा साउन अर्थात कालो महिना सम्पन्न हुन लागेको अवसरमा सोमबार साउने त्यार समेत मनाइएको छ । धार्मिक महिनाका रुपमा समेत चिनिने साउन महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ । साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ । यो महिना कैलासमा राक्षस र देबीदेबताबिच लडाइ हुन्छ भन्ने जनविश्वास रहेको छ । साउनको महिना देवीदेवता बैकुण्ठमा शयर गर्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको स्थानीय संस्कृतिका जानकार राधापल्लब जोशीले बताउनुभयो ।
यो पनि पढ्नुहोस: दार्चुलासहित सुदूरपश्चिममा बत्ती बाल्ने महिनाको समापन
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया