दार्चुला । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब तीन महिनासम्म एकीकरण अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । यस्तो एकीकरण अरु पार्टीसँग नभएर कार्यकर्ताहरुको हुने उहाँको भनाइ छ । पार्टीका निर्वाचित केन्द्रीय सदस्यहरुको सपथग्रहण समारोहपछि ओलीले अब एमालेमा अरु पार्टीका कार्यकर्ता प्रवेश गराउने अभियान चलाइने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टी–पार्टी भेला गरेर हुँदैन, कार्यकर्ता भेला गर्नुपर्छ । विभिन्न पार्टीबाट कार्यकर्ता हामीले प्रवेश गराउनुपर्छ । यस्तो अभियान सिर्जना गरेर पार्टीलाई माथि उठाइन्छ ।’ यस्तो अभियान कहिलेबाट सुरु गर्ने भन्ने केन्द्रीय कमिटीले मिति तय गर्ने ओलीले जानकारी दिनुभयो । एमालेको १० औं महाधिवेसनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो वैठक आजै बस्ने पनि उहाँले बताउनुभयो ।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको ‘बिजनेश बैठक’ मंसिर २५ र २६ गते बस्ने भएको छ । घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई कामकाजी बनाउनेगरि केन्द्रीय कमिटीको बैठक बस्ने बताउनुभयो। मंसिर २५ र २६ गते बस्ने बैठकमा व्यवस्थित ढंगले प्रस्ताव लगिने र स्थायी कमिटी तथा पोलिटव्यूरो निर्वाचित गर्ने अध्यक्ष ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले पार्टीको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनशील हुन, दम्भ तथा अहंकार नदेखाउन निर्देशन दिनुभयो । पार्टीको दशौं महाधिवेशन अन्तर्गत मंगलबार बन्दसत्रलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिनुभएको हो ।
अध्यक्ष पदमा केपी शर्मा ओलीले अध्यक्ष १८३७ मत हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत हासिल गरेका छन् । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, ६ उपाध्यक्षमा निर्वाचित भएका अष्टलक्ष्मी शाक्यले १९७६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा ‘बादल’ले १७६८, विष्णु पौडेलले १८५६, सुरेन्द्र पाण्डेले १९२५ र सुवास नेम्वाङले १८६५ मत हासिल गरेका छन् ।
महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, तीन उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।
७ सचिवमा गोकर्ण विष्टले १९७४, छविलाल विश्वकर्माले १८०३, टोपबहादुर रायमाझीले १८०४, पदमा कुमारी अर्यालले १७९९, योगेश भट्टराईले १९६०, रघुवीर महासेठले १५०० र लेखराज भट्टले १७०४ मत हासिल गरेको जनाइएको छ ।
सम्बन्धित समाचार: नेकपा एमाले नेता गणेश ठगुन्ना केन्द्रीय सदस्यमा निर्वाचित, सुदूरपश्चिमबाट लेखराज बने सचिव
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया