दार्चुला । मंसिर ४ गते हुने निर्वाचनको क्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्नाले जिल्लाभरीका आमसभामा आफुले जिल्लाको लागि गरेका विकास निर्माणका कुरा सुनाउनमा अधिकासं समय खर्चिनुभएको छ । गठबन्धनका उम्मेदवारले ओलीको आलोचना र संबिधानको कुरामा अधिकासं समय खर्च गरिरहदा एमाले नेता ठगुन्नाले ६ महिना मन्त्री हुँदा र दुई पटक सांसद हुँदा सुरु गरेका काम र पुरा गर्न बाँकी कामबारे जनतालाई सुनाउने कुरामा बढी केन्द्रित हुनुभएको छ । अधिकासं चुनावी सभामा बोल्दै मन्त्री बडूसहितका गठबन्धनका उम्मेदवारले संविधानको स्थायित्व र संसदको पूरा कार्यकालका लागि गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो । तर गणेश ठगुन्ना लगायत एमाले उम्मेदवारको जोड जिल्लाको विकास र समृद्धिका कुराहरुमा देखिएको छ ।
नेपालको संबिधान निर्माणमा भूमिका देखि दुई दशक गौचरन बनेको गोकुलेश्वर विमानस्थल पुर्ननिर्माण सुरु, दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिनु, सुनसेरासम्म कालोपत्रे सडक निर्माण कार्य अघि बढाएको, भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटर चुच्चे नक्सा जारी गरेको, छांगरु लगायत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति गराएको लगायत जिल्लाका लागि दर्जनौ महत्तपूर्ण कामहरु आफुले गरेको ठगुन्नाको भनाई छ । पचास सैययाको जिल्ला अस्पतालदेखि हरेक स्थानीय तहमा अस्पताल निर्माण सुरु गरेको, सुख्खाग्रस्त क्षेत्र लेकमको कुणीको १३ सय परिवारको लागि बृहत चमेलिया लिफ्टींग खानेपानी योजना सुरु गरेको, रानिशिखर भगवती क्षेत्रमा खानेपानी, सदरमुकाम खलंगामा शहरी खानेपानी देखि सबै स्थानीय तहमा एक घर एक धारा अभियान सुरु गरेको ठगुन्नाको भनाई छ ।
ठगुन्नाले जारी गरेको ९ बुद्धे प्रतिबद्धतामा पनि जिल्लाको समग्र विकासका कुरा समेटिएका छन् । राष्ट्पति शैक्षिक सुधारमार्फत शिक्षामा लगानी, दुर्गम क्षेत्रका गर्भवती, घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार, दार्चुलाका ११ हजार जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ताको पहुँचमा रहेको कुरा उल्लेख गरिएको छ । खार खलंगा सडक, पारिबगर खण्डेश्वरी सडक, विभिन्न ग्रामीण सडक, विद्युत, दुर्गम क्षेत्रमा समेत सञ्चारको पहुँचको लागि टेलिफोन टावर निर्माण गरेको लगायत थुप्रै काम आफ्नो कार्यकालका महत्वपूर्ण उपलब्धि रहेको ठगुन्नाको भनाई छ । तर सत्तारुढ दलको गठबन्धन भने जनतालाई झुटा आश्वासनमात्रै बाँडिरहेको भन्दै सचेत रहन ठगुन्नाको आग्रह छ । म सँग हरेक कामको प्रमाण छ । तथ्यसहित हरेक कुरा बोलेको छु, उहाँले भन्नुभयो, तर गठबन्धनका नेता पटकपटक सत्तामा पुगेपनि जिल्लाको लागि देखिने गरी काम गर्न नसकेको भन्दै झुटा आश्वासनमा नफसाँै । गठबन्धनका नेताहरुले जिल्लाको विकासको लागि के गरे ? योजनामा कमिशन कमाउनुबाहेक अरु केही काम गर्न नसकेको भन्दै ठगुन्नाले भन्नुभयो, मंसिर ४ गते जनताले सही उम्मेदवार र पार्टी छान्नुपर्नेछ ।
एमालेको जित सबै नेपालीको जित हुने उहाँको भनाई छ । मन्त्री बडूले २०४८ सालदेखि तीन पटक संसदमा प्रतिनिधित्व गर्नुभयो, पटकपटक गरेर पाँच वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभयो तर पनि जिल्लाका लागि देखिने गरी उहाँले गरेको काम के हो ठगुन्नाको प्रश्न छ । गठबन्धनका दुई जना मन्त्री छन् । उनीहरुले अहिले ठूलो मात्रामा आर्थिक चलखेल गरेर जनताको मत किन्ने प्रयासमा लागेका छन् । उहाँले भन्नुभयो, जनताले पैसा खाएर असल पार्टी, राष्ट्को लागि काम गर्ने पार्टी, विकास गर्न सक्ने पार्टी नेकपा एमालेमा मतदान गर्नुपर्छ । सक्षम र युवा नेतृत्व छनौट गरे मात्रै जिल्लाको विकास हुने भन्दै उम्मेदवार ठगुन्नाले भन्नुभयो, बयोबृद्धलाई मतदिएर पाँच वर्ष फेरि जिल्लालाई पछि नधेकेलौँ ।
प्रवेसको लहर
विहिबार मार्मामा ५ जना, लेकममा १२ जना र शैल्यशिखरमा ६८ जनाले एमालेमा प्रवेस गरेको एमाले दार्चुलाले दाबी गरेको छ । घरदैलो कार्यक्रममा मार्मा गाउँपालिका वडा नम्बर २ मा पाँच जना नेकपा एमाले प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा ०५४ सालदेखि नेपाली काग्रेसमा क्रियाशिल रहेका विरुवा भट्ट, नेकपा माओवादी केन्द्रका कमलेशसिह धामी, प्रेमसिह धामी, हरीपाल जागरी, अक्कल ठगुन्ना र चक्र महर नेकपा एमाले प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले जानकारी दिनुभयो ।
लेकम गाउँपालिकाका सबै वडामा आज दिनभरी भेटघाट गरिएको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एबं लेकम इन्चार्ज परमानन्द जोशीले बताउनुभयो । उहाँका अनुसार लेकमको वडा नम्बर ४ झलातीमा ५ जनाले र वडा नम्बर २ मा सात जनाले नेकपा एमालेमा प्रवेस गरेका छन् । एमाले प्रदेश कमिटी सदस्य दानिराम पार्कीको नेतृत्वमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा झलातीका मदनसिंह बिष्ट, जानकी पार्की, दिपकराम पार्की, मदनराम पार्की र बिरराम कामीले एमालेमा प्रवेस गरेका छन् । यस्तै वडा नम्बर २ मा नारदप्रसाद जोशी, मदनराज जोशी, माधवप्रसाद जोशी, नरेशराम सार्की, ट्युरे सार्की, काशीराम सार्की, गणेशसिंह कार्कीले एमालेमा प्रवेस गरेको एमाले जिल्ला कमिटी सदस्य नारायण जोशीले जानकारी दिनुभयो । दुबै वडामा नेपाली कांग्रेश र माओबादी केन्द्र परित्याग गरि उनिहरु एमालेमा प्रवेस गरेको उहाँले बताउनुभयो । यस्तै लेकम गाउँपालिका वडा नम्बर ५ का युवा संघ अध्यक्ष धनबहादुर बोहरा अनुजले आफु नेकपा एमालेमै रहेको भन्दै अफवाह फैलाउने ढंगले गरिएको दुष्प्रचारको खण्डन गर्नुभएको छ । आज समेत आफुले एमाले उम्मेदवार जिताउन दिनभर प्रचार गरेको बोहराले बताउनुभयो ।
यसैबिच शैल्यशिखर नगरपालिका वडा नम्बर १ मा ६८ जनाले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेस गरेको दाबी गरिएको छ । एमाले जिल्ला नेता कर्णबहादुर खडायतका अनुसार कांग्रेश र माओबादीको विभिन्न जिम्मेवारीमा रहेका मानिसहरु एमालेमा प्रवेस गरेका छन् । यमराज खडायत, गोमति खडायत, मञ्जु खडायत, हरकुश खडायत, डम्बर खडायत, रबिन्द्र खडायत, मानमति खडायत, जयन्ती खडायत, निरुता रावल, विश्वामित्र खडायत लगायतले एमाले प्रवेस गरेको उहाँले बताउनुभयो । यस्तै शैल्यशिखर १ टुणाका बिरेन्द्र ओड, धिरेन्द्र ओड, अदुवा ओड, जानकी ओड, सिर्जना ओड, शान्ति ओड, पार्वती नाथ, सिन्धु ओड लगायतले समेत एमाले प्रवेस गरेका छन् ।
आजदेखि स्थिर समय सुरु हुने भएकोले सबै पालिकामा नेताहरु दिनभर सक्रिय भएर प्रचारप्रसारमा खटिएको एमाले जिल्ला कमिटी अध्यक्ष प्रेमसिंह धामीले जानकारी दिनुभयो । एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेशसिंह ठगुन्ना र प्रदेशसभा उम्मेदवार हरदेब जोशीले जिल्ला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकामा प्रचारप्रसार गरेका छन भने प्रदेशसभा उम्मेदवार रामदत्त जोशीले शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा कार्यकर्ता भेटघाट गरेको एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले बताउनुभयो ।
स्थानीय तह निर्वाचनमा समेत गठबन्धनका विरुद्ध एक्लै लडेको एमालेले विजय प्राप्त गरेको बताउदै उहाँले स्थानीय चुनावपछि कांग्रेश, माओबादी, समाजवादीबाट सयौँ कार्यकर्ता एमालेमा समाहित भएकोले प्रतिनिधिसभा र प्रदेशसभाको दुबै क्षेत्रमा एमालेको जित हुने दाबी गर्नुभयो । स्थानीय तह निर्वाचनमा मत परिणाम हेर्दा नेकपा एमाले एक्लैले ३० हजार ४०२ मत पाएको छ भने, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै मिलेर गठबन्धनले २९ हजार ७५० मत पाएको छ ।
सम्बन्धित समाचारः दार्चुलामा बडू र ठगुन्नाबिच प्रतिस्पर्धा, गणितमा एमाले बलियो, चुनाव जित्ने दुबैको दाबी
मत विश्लेषणसहितको भिडियो हेर्नुहोस
मन्त्री बडू र पूर्वमन्त्री ठगुन्ना २०६४ सालको संविधानसभा निर्वाचन देखि चुनाव लड्दै आउनुभएको छ । २०६४ सालको निर्वाचनमा बडू र ठगुन्ना दुवै जना माओवादी नेता लक्ष्मणदत्त जोशीसंग पराजित हुनुभएको थियो । २०७० सालको दोस्रो संबिधानसभा निर्वाचनमा बडूलाई पराजित गर्दै ठगुन्नाले संसदको यात्रा सुरु गर्नुभयो । २०७४ सालको निर्वाचनमा बडूले समानुपातिकमा आफ्नो सिट सुरक्षित गरेपछि ठगुन्नासंग कांग्रेशका बिक्रमसिंह धामीले प्रतिस्पर्धा गर्नुभयो । बाम गठबन्धनका साझा उम्मेदवार ठगुन्नाले धामीलाई छ हजार ७६५ मतान्तरले पराजित गरेर दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । यसपघि दुई पटक चुनाव लडेका बडू र ठगुन्नाबीच तेस्रो पटक प्रतिस्पर्धा भइरहेको छ । यसपटक ठगुन्नाले चुनाव जिते उहाँको ‘ह्याट्रिक’ हुनेछ, बडूले चुनाव जिते पनि दार्चुलाबाट तेस्रो पटक प्रत्यक्ष चुनाव जितेर प्रतिनिधि सभा छिर्नुहुनेछ । ७० वर्षीय बडू र ५३ वर्षीय ठगुन्नाबिच यसपटकको चुनाव निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
यस्तो छ अंकगणित
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा दार्चुलाबाट एमाले उम्मेदवार गणेशसिंह ठगुन्नाले माओबादी केन्द्रको सहयोगमा २८ हजार ९९८ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसका उम्मेदवार बिक्रमसिंह धामीले ठगुन्नाको भन्दा छ हजार ७६५ कम अर्थात २२ हजार २३३ मत प्राप्त गर्नुभएको थियो । अहिले गठबन्धनको समिकरण फेरीएपनि स्थानीय तह निर्वाचन २०७९ को नतिजा हेर्दा गठबन्धनभन्दा एमाले एक्लै बलियो देखिएको छ । नौँ स्थानीय तहमध्ये दुई नगरपालिकासहित पाँच पालिकाको प्रमुख एवं अध्यक्षमा एमालेले जित हात पारेको छ भने एक स्थानीय तहमा उपाध्यक्षसहित बहुमत हासिल गरेको छ । माओबादी केन्द्रले चार स्थानीय तहको नेतृत्व पाउँदा कांग्रेश सुन्य रहेको छ ।
स्थानीय तहको निर्वाचनमा प्रमुखको मतलाई मात्र हेर्ने हो भने शैल्यशिखरमा एमालेले पाँच हजार ५०९ र गठबन्धनले चार हजार ६६२ मत पाएको छ । महाकालीमा एमालेले पाँच हजार तीन मत र गठबन्धनले तीन हजार ८८७ मत पाएको छ । मालिकार्जुन गाउँपालिकामा एमालेले चार हजार ३४ र गठबन्धनले तीन हजार ३२२ मत पाएको छ । नौगाडमा एमालेले तीन हजार २७७ र गठबन्धनले तीन हजार ७८३ मत पाएको छ । लेकममा गठबन्धनले दुई हजार ९७६ र एमालेले दुई हजार ४४५ मत पाएको छ । दुहुँमा गठबन्धनले दुई हजार ७९६ र एमालेले दुई हजार ८८६ मत पाएको छ । व्यासमा गठबन्धनले दुई हजार ३९६ र एमालेले दुई हजार ९४९ मत पाएको छ । मार्मामा गठबन्धनले तीन हजार ६१६ र एमालेले दुई हजार ९१४ मत पाएको छ । अपिहिमालमा गठबन्धनले दुई हजार ३१२ र एमालेले एक हजार ३८५ मत पाएको छ ।
समग्रमा कांग्रेश, माओबादीसहितको गठबन्धनले २९ हजार ७५० मत पाउदा एमाले एक्लैले ३० हजार ४०२ मत प्राप्त गरेको छ । दार्चुलामा राप्रपाले १९१ र नेकपा (एकीकृत समाजवादी) ले १५३ मत प्राप्त गरेको छ । समग्रमा यसै वर्षको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा अनुसार गठबन्धनको भन्दा एमाले एक्लैको साढे छ सय मत बढी देखिन्छ ।
चुनाव जित्ने दुबैको दाबी
आसन्न निर्वाचनमा आफुले जित्ने दाबी एमाले र गठबन्धन दुबैको सुनिन्छ । मन्त्री बडूलाई चुनाव जित्न गठबन्धनको भर पर्नुपर्ने देखिन्छ । पूर्वमन्त्री ठगुन्नाले पनि २०७४ को भन्दा कडा मेहनत गर्नुपर्ने देखिन्छ । एमालेमा संगठन तथा आन्तरिक एकता बलियो हुनु, स्थानीय तह निर्वाचनको मतपरिणाम अनुकुल हुनु, पालिका चुनावपछि कांग्रेश, माओबादी र समाजवादीका केही प्रदेश र जिल्ला कमिटीका नेतासहित कार्यकर्ताले एमाले प्रवेस गर्नु, ठगुन्नाले विकासवादी नेताको छबि कायम राख्नु जस्ता कारणले जित सुनिश्चित रहेको दाबी गर्दै आएको छ ।
आफुले पाँच हजार बढी मतान्तरले चुनाव जित्ने प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्नाको भनाई छ । सच्चा कम्युनिष्टले कांग्रेशलाई भोट नहाल्ने भएकोले कम्तिमा माओबादीको ४० प्रतिषत र इमानदार कांग्रेश कार्यकर्ताको २० प्रतिषत भोट आफुलाई प्राप्त हुने ठगुन्नाको दाबी छ ।
बडूलाई पनि माओवादी केन्द्रका मतदाताहरुको बलियो साथ मिल्ने विस्वासका साथ चुनाव जित्ने दाबी देखिन्छ । गठबन्धनका सबै पार्टीको मत जोड्दा एमालेको हाराहारीमा पुग्नु, केन्द्रीय राजनीतिमा बलियो प्रभाव हुनु, अहिले पनि सरकारमा हुनु जस्ता कारणले बडू चुनाव जित्ने कांग्रेशको दाबी देखिन्छ ।
दार्चुलाबाट प्रतिनिधि सभाका लागि बडू र ठगुन्नासंगै राप्रपाबाट नरेन्द्रसिंह धामी, नेमकिपाबाट विश्वराम दुवाल, राप्रपा नेपालबाट देवबहादुर बम, नेस्नल पिपुल्स पार्टीबाट धर्मसिंह दयाली, नागरिक उन्मुक्ति पार्टीबाट तारादत्त जोशी, संघीय लोकतान्त्रिक मञ्चबाट रमेशराम लुहार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबिन्द्रसिंह धामी गरी नौँ जनाको उम्मेदवारी रहेको छ । चुनावी मैदानमा रहेका सबै उम्मेदवार आफुले जित्ने दाबी सहित प्रचारप्रसारमा व्यस्त रहेका छन् ।
विकास र लोकतन्त्रको रक्षाका लागि गठबन्धन जित्नु आवश्यकः मन्त्री बडू
मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिलेको चुनाव चुनाव मात्रै नभएर एउटा मान्दोलन भएको बताउदै आउनुभएको छ । संविधानमै व्यवस्था नभएको कदम चालेर दुई–दुई पटक संसद् भंग गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको तानाशाहा विरुद्ध बामलोकतान्त्रिक गठबन्धनको जन्म भएकोले लोकतन्त्रको रक्षा र विकासको लागि गठबन्धनले जित्नु आवश्यक रहेको बडूको भनाई छ । संबिधानमाथि खतरा कायमै रहेकोले यो गठबन्धन बनेको उहाँको भनाई छ । साथै उहाले आफु मन्त्री भएपछि समग्र देशको विकासका लागि काम गरेको दाबी गर्नुभयो । २०४८ सालपछि कांग्रेशले जिल्लाको विकास गरेको बडूको भनाई छ ।
आफुले उद्योग मन्त्रालय सम्हाले पछि जिल्लाका विभिन्न स्थानमा खाद्य डिपोहरु संचालनमा आएको, नेपाल भारत जोड्ने मोटरेबल पुलको शिलान्यास भएको, दार्चुलाको च्याग्रा काठमाण्डौमा बिक्रि भएको, उद्यामीलाई प्रविधि हस्तान्तरण गरिएको र यस्ता धेरै काम गर्न एक पटक गठबन्धनलाई जिताउन मन्त्री बडूले आग्रह गर्नुभयो । आफुले सरकारमा पुग्दा दार्चुलाका लागि केही न केही काम गरेको उहाँको दाबी छ । आफुले खानेपानी, शिक्षा, विद्युत, सडक, खाद्यान्न लगायत विभिन्न क्षेत्रमा महत्तपूर्ण काम गरेको बडूले बताउनुभयो ।
सीमा सुरक्षा, विकास र समृद्धिको लागि एमाले जित्नु आवश्यकः ठगुन्ना
एमाले पोलिटव्यूरो सदस्य ठगुन्नाले सीमा सुरक्षा र जिल्लाको समग्र विकासका लागि एमालेले जित्नु आवश्यक रहेको बताउनुभयो । २०४८ सालदेखि पटकपटक अवसर पाउँदा पनि जिल्लाको लागि सिन्को भाँच्न नसकेका बडूले अहिले पनि अन्तिमपटक भन्दै मत माग्ने गरेका छन्, नेता ठगुन्नाले भन्नुभयो, तर जिल्लाको लागि यतिका वर्षसम्म अवसर पाएर के देखिने काम गर्नुभयो । जनतालाई भ्रममा राखेर जिल्लाको लागि केही गर्न नसक्ने अनि जनतामाझ डायरी लिएर भुलाउने काममा बडू लागेको भन्दै उहाँले यस्तो झुट अब जिल्लाले चिन्नुपर्ने बताउनुभयो ।
मैले २०७० सालदेखि जिल्लाको लागि भनेका कामहरु पूरा गरेको छु, ठगुन्नाले भन्नुभयो, केही निर्माणकै चरणमा छन् । आफुले सुरु गरेका महत्तपूर्ण अधुरा कामहरु पूरा गर्न अहिले पनि एमालेले जिल्लाबाट जित्नुपर्ने ठगुन्नाको भनाई छ । संविधान विरोधी एमाले नभइ अहिलेको गठबन्धन हो, उहाँले भन्नुभयो, देशलाई सेटिंगमा चलाएको छ, अदालतलाई हातमा लिएर सरकारले मनलाग्दी गर्दै आएको छ ।
महाकाली करिडोर, दार्चुला तिङ्कर सडक लगायत विभिन्न क्षेत्रका दर्जनौँ सडक, गोकुलेश्वर विमानस्थल, लेकम र मालिकार्जुनको सुख्खाग्रस्त क्षेत्रमा खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत, पर्यटन, खेल, सीमा सुरक्षा, सामाजिक सुरक्षा लगायत दार्चुलामा विभिन्न क्षेत्रका सयौँ योजना एमालेले सुरु गरेको ठगुन्नाको भनाई छ । एमालेकै नेतृत्व र पहलमा दार्चुलाको अतिक्रमित भूमि नक्सामा समेटिएको र भूमि फिर्ताका लागि समेत एमालेले जित्नु आवश्यक रहेको उहाँको भनाई छ । आफुले सुरु गरेका महत्तपूर्ण योजनाहरु सम्पन्न गरी दार्चुलालाई समृद्ध बनाउन एमालेले जित्नु आवश्यक रहेको उहाँले बताउनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया