दार्चुला । दार्चुला । दार्चुलाका ग्रामीण क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । रंगहरूको पर्व होली यस वर्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको संघारमा परेकाले बजार क्षेत्र केही सुनसान देखिए पनि ग्रामीण भेगमा भने चहलपहल छ ।
जिल्लाका ग्रामीण क्षेत्रमा स्थानीयहरुले शुक्रबारदेखि नै होली खेलिरहेका छन् । विगतका वर्षहरूको तुलनामा यसपटक निर्वाचन सुरक्षाका कारण उत्साह केही संयमित भए पनि मिलेर सभ्य र मर्यादित रूपमा पर्व मनाइरहेको लेकम गाउँपालिका–६ स्थित भैरवनाथ युवा क्लबका सदस्य प्रशान्त मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय युवाहरूले निर्वाचन आचारसंहिता र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै होली मनाइरहेका छन् ।
प्रशासन कार्यालय र प्रहरीले प्रतिनिधि सभा निर्वाचन र होली संगै परेकोले निर्वाचन आचारसंहिता र सुरक्षा व्यवस्थालाई समेत ध्यानमा राखेर होली मनाउन आग्रह गरेका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा उल्लासमय वातावरणमा विभिन्न समुह, क्लब र संस्था, संगठनहरुको अगुवाइमा होली मनाईरहेको स्थानीयहरुले बताएका छन् ।
फागु पर्वमा एक आपसमा विभिन्न रंग तथा अबिर लगाएर मनाउने चलन छ । केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, चार पाँच वर्षयता फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको स्थानीयहरु बताउछन् ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिभित्र होली÷फागु पर्व परेकाले निर्वाचनको सुरक्षा संवेदनशीलता र आचारसंहिताको पूर्ण पालना गर्दै होली पर्व मनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । प्रशासनले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण होली पर्वलाई मर्यादित, सभ्य, अनुशासित र शान्तिपूर्ण वातावरणमा मनाउन सम्पुर्ण जिल्ला बासिलाई अनुरोध गरेको हो ।
यस पटक प्रतिनिधि सभा निर्वाचनको मौन अवधिमा होली पर्व परेकोले निर्वाचन आचारसंहिता र निर्वाचनको सुरक्षालाई समेत ध्यानमा राखेर होली मनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । आपसी सद्भाव, शान्ति र सौहार्द कायम राख्दै होली मनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।
कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने वा फोहर छ्याप्ने जस्ता असभ्य व्यवहार नगर्न÷नगराउन आग्रह गरिएको छ । त्यस्तै मादक तथा नशालु पदार्थ सेवन नगर्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन तथा सार्वजनिक स्थानमा होहल्ला वा चर्को आवाजमा डिजे नबजाउन अनुरोध गरिएको छ। कसैको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने तथा अमर्यादित वा उच्छृंखल व्यवहार नगर्न पनि प्रशानले आग्रह गरेको छ ।
निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण परिपालना गर्दै होली पर्व मनाउन र निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा सर्वसाधारणलाई कुनै प्रकारको दुःख, हैरानी वा कष्ट नदिन पनि प्रशासनले स्पष्ट पारेको छ। सूचनाको उल्लंघन गरी प्रचलित कानून विपरीतका कार्य गरे÷गराएमा कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।




