दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार (आज ) सुदूरपश्चिम आउनु हुने भएको छ ।
झण्डै २६ वर्षदेखि चर्चामा रहेको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सुदूरपश्चिम आउनु लाग्नु भएको हो ।
ओली सोमबार बिहान काठमाडौँबाट हुने श्रीएयरलाइन्सको पहिलो उडान मार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ। केहीबेर आराम गरेर नेपाली सेनाको हेलीकोप्टर मार्फत कञ्चनपुर जाने कार्यक्रम तय भएको छ।
कार्यक्रम स्थल नजिकै हेलीप्याड समेत स्थापना गरिएको छ। प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन्।
२०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहेका बेलादेखि दैजीमा औद्योगिक क्षेत्र स्थापना हुने चर्चा चलेपनि हालसम्म काम सुरु हुन सकेको थिएन।
अधिकारी प्रधानमन्त्री हुदा २ लाख बजेट विनियोजन गरी दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम निर्माणको चर्चा सुरु भएको थियो।
प्रधानमन्त्री ओलीले शिलान्यास गरेपछि औद्योगिक क्षेत्र स्थापनाको कामले गति लिने अपेक्षा गरिएको छ।




