बैतडीमा नेकपाका केन्द्रीय सदस्यदेखी दर्जनौ कार्यकर्ता एमाले प्रवेश, भण्डारी बलियो बन्दै

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बैतडीमा दल परिवर्तनको लहर देखिएको छ। नेकपा र नेपाली कांग्रेसका दर्जनौँ नेता–कार्यकर्ताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन्।

नेकपाका केन्द्रीय सदस्यद्वय दल बहादुर धामी र दिपेन्द्र कुवँर तथा नेपाली कांग्रेसका प्रदेश समिति सदस्य जनक बिष्टलगायत नेताहरूले पार्टी त्यागेको जनाइएको छ। उनीहरू पुरचौंडी क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्छन्।

एमालेको दाबीअनुसार, उनीहरूसँगै कांग्रेस र नेकपाका स्थानीय तहका २१४ जना कार्यकर्ताले पार्टी छाडेका छन्। जसमध्ये १६२ जनाको नामावली सार्वजनिक गरिएको छ।

एमाले उम्मेदवार दामोदर भण्डारीले पुरचौंडीबाट आफ्नो पहिलो चुनावी सभा सुरु गर्दै नवप्रवेशीलाई स्वागत गरेका थिए। यसअघि घरदैलो अभियानमा रहेका भण्डारीले पहिलो सभामै विभिन्न दलका प्रभावशाली नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेपछि उत्साह व्यक्त गरेका छन्।

लगातार तीन पटक निर्वाचन जितिसकेका भण्डारीले सभालाई सम्बोधन गर्दै भने, “एमालेसँग एक्लै पनि जितका लागि पर्याप्त मत छ। अन्य दलबाट थपिएको समर्थनले चौथो पटक जित्न सहज बन्दै गएको छ।”

गत निर्वाचनमा समानुपातिकतर्फ एमालेले २९ हजार मत प्राप्त गरेको थियो भने कांग्रेसले २४ हजार मत पाएको थियो। कांग्रेसभित्र तल्लो तहसम्म असन्तुष्टि देखिएको दाबी एमाले नेताहरूले गरेका छन्। एमालेका केन्द्रीय सदस्य गोविन्द गिरीले भने, “हामी पहिले नै अगाडि छौँ। कांग्रेसभित्रको आन्तरिक विवादले झन् सहज बनाएको छ।”

कांग्रेसको दाबी : ‘चतुरको पल्ला भारी’

उता नेपाली कांग्रेसले भने आफ्ना उम्मेदवार चतुर बहादुर चन्दलाई जनताको समर्थन बढ्दै गएको दाबी गरेको छ। पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका चन्दले पुराना अनुहारबाट निराश मतदाताको समर्थन पाउने कांग्रेसको भनाइ छ।

कांग्रेसले मेलौली नगरपालिकामा समेत दर्जनौँ कार्यकर्ता पार्टीमा प्रवेश गरेको जनाएको छ।

एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुने आकलन गरिएको छ। यसका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी, नेकपा (माओवादी केन्द्र)का पर्मानन्द भट्ट र राप्रपाका भुपेन्द्र चन्दले पनि चुनौती दिने अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?