दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो । बैठकमा संसदीय दलको नेता छनोट र विविध एजेण्डाबारे छलफल हुने बताइएको छ । सो बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची छ ।
गत पुस १३ गते काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहसँग भएको ७ बुँदे सहमति भएको थियो । सहमतिको बुँदा नं ४ मा रवि लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो ।
सचिवालय सदस्य गणेश पराजुलीले विगतमा भएको ७ बुँदे सहमति बमोजिम संसदीय दलको बैठकले बालेनलाई दलको नेता छान्ने जानकारी दिनुभयो ।
नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साह बालेनलाई नेता चयन गर्ने बताइएको छ ।
संसदीय दलको नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई धारा ७१ (१) बमोजिम गठन हुने सरकारमा प्रधानमन्त्रीको नाम पठाउने पार्टीको तयारी छ ।
आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी भइसकेको छ ।




