खानेपानीमा राजनीतिक दाउपेच : कुणी, कुसकाडा बृहत खानेपानी अन्यौलमा

दार्चुला । राजनीतिक दाउपेचका कारण खानेपानीको चरम अभाव भोगिरहेका लेकम गाउँपालिका वडा नम्बर २ कुणी, कुसकाडा लगायत विभिन्न बस्तीमा खानेपानी पुर्याउन लागु भएको चमेलिया लिफ्टीङ खानेपानी आयोजना निर्माणमा ढिलाइ भइरहेको छ ।

समिति गठनमा राजनीतिक स्वार्थ देखिएपछि उपभोक्ताहरु समस्यामा परेका छन् । नेपाली काग्रेश पक्षधर कार्यकता तथा उपभोक्ताहरुले जयदेब भट्ट अध्यक्ष रहेको उपभोक्ता समितिको बिरोध गर्नुका साथै नेतृत्व फेरेर उपभोक्ता समिति गठन गर्नुपर्ने पक्षमा छन् । जयदेब भट्ट लगायत नेकपा पक्षधर कार्यकर्ता र उपभोक्ताहरुले योजना स्वीकृत गराउन प्रतिनिधिसभा सदस्य एबं नेकपा नेता गणेश सिंह ठगुन्ना र तत्कालिन उपभोक्ता समिति अध्यक्ष जयदेब भट्ट लगायतको भूमिका रहेको भन्दै आफुहरुले उपभोक्ता समितिको नेतृत्व पाउँनुपर्ने बताउदै आएका छन् । सुदूरपश्चिम प्रदेशकै ठूलो खानेपानी आयोजनालाई असफल पार्ने उद्धेश्यले उपभोक्ता समितिलाई बिबादित पार्ने खेल भइरहेको भट्टको भनाई छ । केहि सिमित मानिसले बहादुरसिंह खत्रीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेपछि आफुले सिफारिस लगायतको प्रकृया अगाडी नबढाउन वडा कार्यालय र गाउँपालिकालाई लिखित अनुरोध गरेको भटट्ले बताउनुभयो ।

बिहिबार उपभोक्ता समिति गठनका लागि वडा कार्यालयले भेला बोलाएको भएपनि सहमति नजुटेपछि सिमित व्याक्तिहरुको उपस्थितिमा समिति निर्माण भएको बताइएको छ । भेलामा यसअघि डिपिआर बनाउदा अनियमितता भएको आरोप लागेको विषयमा जयदेब भट्टले स्पष्ट पारेको बताउनुभएको छ । डिपिआर गरेर सबै प्रकृया पुरा भएको अवस्थामा चरित्रहत्या गर्ने नियतले अनियमितताको आरोप लागेको भट्टको भनाई छ । काग्रेश निकट कार्यकर्ताले भने डिपिआर निर्माणमा अनियमितता भएकै कारण जयदेब भट्टलाई उपभोक्ता समिति अध्यक्षमा स्वीकार नगर्ने तर्क गरेका छन् । डिपिआरमा अनियमितता भएको विषयमा कानुन अनुसार न्याय खोज्ने बाटो हुदाहुदै उपभोक्ता समिति हत्याउने अस्त्रका रुपमा अनियमितताको आरोपलाई प्रयोग गर्न खोजेको जानकारहरु बताउछन् ।

विहिबार समिति गठनमा सहमति नभएपछि भट्ट सहित नेकपा समर्थक उपभोक्ताहरुले भेला बहिस्कार गरेको बुझिएको छ । तर बहादुर सिह खत्री को अध्यक्षतामा केहि व्याक्तिहरुको उपस्थितिमा उपभोक्ता समिति गठन गरिएको खबरहरु पनि प्राप्त भएको छ । बहादुर सिह खत्रीले सर्वसहमतिमा आफ्नो अध्यक्षतामा नयाँ समिति गठन गरिएको दाबी गर्नुभयो । तर भेलामा सहभागिहरुका अनुसार सिमित व्याक्तिहरुको उपस्थितिमा समिति गठन गरिएको खबर प्राप्त भएको छ । दुई पक्षबिचको दाउपेचका कारण योजना असफल भएमा सयौँ जनता खानेपानीबाट बञ्चित हुने भएकोले सहमतिका साथ समिति गठन गरेर छिटो आयोजनाको काम अघि बढाउन उपभोक्ताहरुको आग्रह छ ।

प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाको पहलमा खानेपानी तथा ढल व्यवस्थापन विभाग, जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाबाट प्राप्त तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरबाट सञ्चालित चमेलिया खानेपानी आयोजना कुणी कुसकाडामा जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाको निर्देशिका बमोजिम कुल लागत अनुमानको एक प्रतिषत रकम जम्मा गर्न ढिलाई हुदा आयोजनाको निर्माण कार्य अघि बढ्न सकेको छैन् । उपभोक्ता वा स्थानीय तहले एक प्रतिषत रकम जम्मा नगरेकै कारण निर्माण कार्यमा ढिलाइ हुनुका साथै २५ करोड रकम समेत रकमान्तर हुने जोखिम बढेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग, जलवायु अनुकुलित बृहत खानेपानी आयोजनाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरलाई गत कार्तिक १९ गते उपभोक्ता समिति र आयोजनाको नाममा खाता खोलि एक प्रतिषत रकम यहि मंसिर महिना भित्र जम्मा नगरे अन्य आयोजनामा बजेट रकमान्तर हुने आशयको पत्र पठाएको छ । विभागको पत्र प्राप्त भएपछि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरले चमेलिया खानेपानी आयोजना कुणी, कुसकाडा दार्चुलाको विस्तृत लागत अनुमान तयार भई लागत अनुमान रु २४ करोड ९८ लाख सात हजार ५५७ कायम भएकोले एक प्रतिषत रकम मंसिर २० गतेभित्र अनिवार्य खातामा हाल्न लेकम गाउँपालिकालाई पत्राचार गरेको छ ।

लागत अनुमानको एक प्रतिषतले हुन आउने रकम २४ लाख ९८ हजार ७५ रुपैँया मंसिर २० गते भित्र उपभोक्ता समिति र आयोजनाको नाममा संयुक्त खाता खोली रकम जम्मा गरी बैंक भौचर उपलब्ध गराउन अनुरोध गरिएको भएपनि हालसम्म रकम जम्मा नभएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कञ्चनपुरका प्रमुख किरण आचार्यले बताउनुभयो । लेकम गाउँपालिका गाउँकार्यपालिका बैठकले २५ लाख बजेट बिनियोजन गरिसकेको भएपनि उपभोक्ता समिति गठनमा सहमति नहुदा रकम निकासा भएको छैन् ।

चमेलिया खानेपानी आयोजना कुणी कुसकाडामामा शुरु देखि नै उपभोक्ता समिति गठनमा विवाद भएपछि कार्यान्वयनमा ढिलाई भइरहेको छ । लामो समयको प्रयासपछि पाप्त आयोजना निर्माणमा तिब्रता दिन स्थानीयले माग गरेका छन् । गाउँमा खानेपानीका मुल नहुदा कुणी, कुसकाडा क्षेत्रमा अधिकासं समय खानेपानीको हाहाकार हुने गरेको छ । सिचाई वा अन्य प्रयोजनका लागि त परै जाओस पिउन समेत खानेपानी अभाव रहेको स्थानीयको गुनासो छ । आयोजना छिटो निर्माण गरेर खानेपानीको समस्या समाधान गरिदिन स्थानीयहरुले सरोकारवालाहरुलाई अनुरोध गरेका छन् । खानेपानी अभावमा स्थानीयले पिठ्युमा घण्टौँ खानेपानी बोकेर जोहो गर्नुपरेको छ ।

यसैबिच प्रस्तुत छ, यहि मंसिर १८ गते बिहिबार उपभोक्ता समिति गठन गर्न लेकम गाउँपालिका वडा नम्बर २ कुणीमा आयोजित उपभोक्ता भेलामा भएको छलफलबारे कार्यक्रममा सहभागि रेडियो लोकदर्पणका संबाददाता हरिप्रसाद जोशीले तयार पारेको समाचारमुलक स्टोरी

खानेपानीमा राजनीतिक स्वार्थ देखिएपछि बिबाद सिर्जना

राजनीतिक प्रतिशोधका कारण चमेलिया कुणी कुस्काणा वृहत खानेपानी आयोजना सन्चालन हुन सहमति नभएकोमा उपभोक्ताहरु चिन्तित बनेका छन्। वि.सं.२०७५ वैशाखमा लेकम गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको रोहवर सहित प्रहरी मुचुल्कामा गठित उपभोक्ता समितिका पहलमा उक्त योजना सन्चालन भइरहेको र राजनीतिक सहमतिमा उक्त समिति पुनर्गठनको माग राख्दा नेकपा र नेका को सहमतिमा कार्य अघि बढिरहेको उपभोक्ता समितिका अध्यक्ष जयदेव भट्टले बताउनुभयो।

फेरिपनि, उपभोक्ता समितिप्रति आशंका गरेर स्थानीय लेकम क्षेत्रकै धार्मिक आस्था बोकेको हुनैनाथ देवताका कार्यकारी भरेणे,धामी,समाजका बुद्धिजीवि, उपभोक्ता समितिका सम्पूर्ण सदस्यहरु लगायत २०० जना बढीको उपस्थितिमा सिंहासन मेरो टाउकोमा राखी कसम खानुभनेपछि आफु लगातार सुख्खा ग्रस्त ठाउँ लेकमको लागि जीबन दाउँमा लगाएर काम गरिरहेको भएकै कारण स्थानीयहरुको सो बाजी स्वीकार गरेको छु अध्यक्ष जयदेव भट्टले भन्नुभयो, कालान्तरदेखि लेकम गाउँपालिकाको कुणी कुस्काणा क्षेत्र पानीको हाहाकार सहि केहि सिप नलागेर उक्त समस्या भोगिरहेको मैंले सानैदेखि देखिरहेकै कारण उक्त क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी पानीको पहुच पुगाउनमा वडा सरकार, लेकम गाउँपालिका सरकार, सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु गेल्बु सिंह बोहरा, निर्मला बडाल जोशी,मान बहादुर धामी(सन्तोष) र प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्ना, प्रतिनिधि सभा सदस्य दिपकप्रकाश भट्ट लगायतको अथक प्रयासपछि तिनतिन पटक मैले नेतृत्व गरेको उपभोक्ता समितिले नै बजेट ल्याउने काम गरेको छ। तर स्थानीय उपभोक्ताहरुलाई मेरो व्यक्तिगत जीबनलाई आच पुर्याउने, गलत अफवाह फैलाउने, तथ्यहिन कुप्रचार गर्ने, राजनीतिक प्रतिशोधका कारण किर्ते हस्ताक्षर गरी उपभोक्ता समिति खारेजको माग राख्दै निवेदन गर्ने विकासका बाधक हरुका कारण खानेपानी योजना धरापमा पर्ने हो कि भनेर उपभोक्ताहरुले चिन्ता व्यक्त गर्नुपनि स्वभाविक नै हो जयदेव भट्ट बताउनुहुन्छ।

हामीले योजना साकार पार्नका लागि काम गरिरहेका छौं। तर केहि विकासका वाधकहरुले मेरो गलत प्रचार गरिरहेका छन् मलाई अचम्म लागिरहेको छ। न आफु गर्ने न अरुलाई गर्न दिने,बाँदरले न आफ्नो घर बनाउँछ न अरुको घर बनाउन लाग्छ, आज यस्तै भइरहेको छ प्रदेसकै ठूलो योजना चमेलिया कुणी कुस्काणा खानेपानीमा। सत्य कुरा लुकाएर लुक्दैन् एकपटक अवश्य पनि उपभोक्ताहरुले वास्तविकता थाहा पाउने उपभोक्ता समिति अध्यक्ष भट्टको भनाई छ ।
मेरै साथी वहादुर सिंह खत्री, मेरा मित्रहरु दुर्गा दत्त जोशी, आनन्द जोशी लगायतका समाजको कार्यमा सरिक व्यक्तित्वहरुले ‘जयदेव भट्टले १२ लाख, ५० लाख भ्रष्टाचार’ गरेका छन् भनेर समाजमा कुप्रचार नै गरेछन्, यतिमात्रै नभई जयदेव भट्टलाई त करोडौं ऋण छ योजना बनाउदैन कि २५ करोड नै खाईदिन्छ भन्न पनि छुटाएनन्। यस्तो कपोलकल्पित कुरालाई कुन शब्दले पुष्ट्याउ घिन लागेर आइरहेको छ । समाजका यस्ता कुपात्रहरु नै विकासका बाधक हुन् भट्ट भन्नुहुन्छ ‘१२ लाख गाउँपालिकाले विनियोजन गरेको पैसा हो जसले ५० करोडको डिपिआर बनाउँदा विस्तृत योजना प्रतिवेदनको आधार तथा डिपिआरको काम गर्दछ त्यो मैंले खाएको होइन् बरु ५, ६ लाख मेरो व्यक्तिगत खर्च भएको छ मित्रहरुलाई १२ लाखको बारेमा गाउँपालिकामा बुझ्न अनुरोध गर्दछु।
साथै जिल्ला खानेपानी दार्चुलाबाट वि.सं.२०७५ असारमा माननिय गणेश सिंह ठगुन्नाको पहलमा ५० लाखको गणागाउँदेखि कुणीसम्म विद्यालय, मन्दिर, कुणी र गणागाउँ भेगका लागि भनेर योजना सन्चालन गर्यौं तर सुरु गरिरहेकै बेला वहादुर सिंह खत्री लगायतले मुद्दा गरेर योजना अगाडी बढ्न सकेन मैले १ रुपैयाँ पनि भुक्तानी पाएको छैन बढी जानकारीका लागि जिल्ला खानेपानी कार्यालय दार्चुलामा बुझ्न सक्नुहुनेछ, भट्टले भन्नुभयो, तपाईहरुकै कारण ५० लाख बजेट फ्रिज भएको छ । कामको सुरुवातमा २ लाख बढी खर्च भयो उक्त पैसा गाउँघरको २० प्रतिषत व्याँजमा ऋण निकालेर तिरेको छु,भट्टले भन्नुभयो ।

वर्षौदेखिको पानीको समस्या समाधान हेतुले नै हामीले काम गरिरहेका छौं। समाजमा दुईचार जनाको गलत अफवाहमा लागेर जयदेव भट्टले यो योजना बनाउन सक्दैन भन्नेहरुले १ लाखको योजना बनाउन सकेका छैनन् भट्ट भन्नुहुन्छ । म सम्पूर्ण उपभोक्ता, बुद्धिजीवि, विद्यार्थी, शिक्षक, पत्रकार आदि सबैमा अनुरोध गर्दछु कि तथ्यहिन कुरामा नलागी त्यस्ता समाजिक विकासका बाधक हरुलाई उल्टै प्रश्न गर्नुहोस्। ५० लाखको योजना हुन नदिए जस्तै २५ करोडको योजना पनि नहुन दिन लागिपरेका विकास विरोधि हरुलाई तपाई के भन्नु हुन्छ? भट्टले प्रश्न गर्नुभयो ।

आजदेखि पनि मेरो व्यक्तिगत जीबनलाई आक्षेप लगाउन छोडेनन् भने कानुनी प्रक्रियामा गइने छ र के हो सत्य असत्य सबै नागरिकहरुले थाहा पाउनेछन् भट्टको चुनौती दिनुभयो । अंग्रेजीमा मास्टर्स गरेर लाइसेन्स हातमा छ जागिर खानकै लागि त अप्ठेरो पनि हुने थिएन तर समाजको लागि केहि गर्नुपर्छ भनेर नै रातदिन खटिरहेको हुँ भावुक हुँदै भट्टले बताउनुभयो । नेपालमा युवाले समाजका लागि केहि गर्न खोज्दा यस्ता समस्याहरु आउनु त स्वभाविक नै हो जे भएपनि सामना गर्न तयार छु। एकदिन समाजलाई मैंले गरेको कार्यबारे थाहा हुनेनैछ उपभोक्ता समिति अध्यक्ष भट्टले भन्नुभयो । विश्व महामारी कोभिड १९ का कारण केहि समय ढिला भएको हो तर उपभोक्ताहरुले खुसीहुनुपर्छ कि यस्तो विषम परिस्थितिमा पनि लेकम गाउँपालिका को चमेलिया कुणी कुस्काणा वृहत खानेपानीका लागि २५ करोड बजेट विनियोजन भएको छ।

म पहाडमै जन्मिए कुणी, कुस्काणाको पिडा थाहा छ घरबाट घण्टौ टाढा रहेको निंगल्यापातलमा पानी भर्ने द्वौरानमै २ जना बढीले ज्यान गुमाई सकेका छन्। लेकम गाउँपालिका ०२ कुणीमै पूर्ख्यौली घर भएका कन्चनपुरबाट प्रतिनिधि सभा सदस्य दिपकप्रकाश भट्ट र दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाको पहलमै यो योजना सन्चालन भइरहेको हो र यसमा दुइमत नरहेको भट्टको भनाई छ ।

स्थानीय तहको निर्वाचनमा वडामा पराजित हुनुभएका लेकम गाउँपालिका वडा नम्बर ०२ का स्थानीय वहादुर सिंह खत्रीले भने ‘जयदेव भट्टले (१२ लाख, ५० लाख) भ्रष्टाचार गरेको आरोप लगाउदै व्यक्तिगत ऋणका कारण योजना सम्पन्न गर्न नसक्ने’ चिन्ता व्यक्त गर्नुभयो । लेकमलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न वडादेखि सिफारिस लिई केन्द्रसम्म दुर्गादत्त जोशी र मैंले पहल गरेरै नै सम्भव भएको हो। ३ वर्ष पहिलेदेखि हामीले योजना सन्चालन गर्न लागिपरेका छौं खत्रीले जिकिर गर्नुहुन्छ। स्थानीयहरुको इच्छा विपरितको उपभोक्ता समिति हामीलाई स्वीकार्य छैन्। सत्ताको मोहले नै जे पायो त्यहि बोल्ने आम जनतालाई कुकुर सम्झिने बोल्ने सभ्यता नभएको भनी योग्य मानिसले मात्रै उक्त योजना सन्चालन गर्न सक्ने वहादुर सिंह खत्रीको भनाई छ। मितिः २०७७/०८/१८ गतेका दिन लेकम गाउँपालिका २ नम्बर वडा कार्यालय कूणीमा आम उपभोक्ताहरु उपस्थित भइ उपस्थिति गरायौं। उपभोक्ता समिति गठनका लागि वडा कार्यालयले लगाएको सूचना अनुरुप हामी पनि सहभागी भयौं तर जयदेव भट्टले म अध्यक्ष भए मात्रै योजना सम्पन्न हुन सक्छ अन्य कसैले उक्त योजना बनाउन सक्दैन भन्नु आफैंमा निर्लज्ज छ। एक जना जयदेव नभए योजना नहुने कुरा आफैंमा संकास्पद भएकाले हामीले पुनः उपभोक्ता समितिको माग गरेका हौं खत्री भन्नुहुन्छ, उम्मेदवारी दर्ता गराएर छलफल गर्दा माईनट नै हराउनु वडा कार्यालयको गैरजिम्मेवारीपन भएको खत्रीको भनाई छ ।

राजनीतिक प्रतिशोध लिइ कुनैपनि व्यक्तिले गलत कुप्रचार गर्नु आफैमा खेद जनक छ। योजना जुनसुकै हालतमा पनि सन्चालन हुनुपर्छ, नेकपा सुदुरपश्चिम प्रदेश कमिटि सदस्य एवम् लेकम गाउँपालिका ईन्चार्ज राम दत्त जोशीले भन्नुभयो, वैधानिक समितिलाई नभएका आरोप लगाउनु र समाजमा व्यक्तिगत आक्षेप लगाउनु कुनैपनि समाजिक कार्यकर्ताहरूले गर्न नहुने र यस्तो नभएको ज्युउँदै मानिसको आखाँमा छारो हाल्ने कार्य निन्दनीय छ।

रामदत्त (आरडी) ले १२ लाख खाए भन्नेहरुले काम भएको देखेनन् बरु सामाजिक अफवाहमा लागि परेका छन्। मैंले त आफ्नै इष्टमित्र, दाजुभाई, दिदीबहिनीहरु हुन भनेर सहेर बसेको छु तर अब यस्तै कुप्रचार हरु गरेर राजनीति गर्न चाहनेहरुका विरुद्ध सतहमै उत्रीन बाध्य हुने नेता जोशीको भनाई छ । सज्जन नागरिकहरु पानी बोक्नमा आफ्नो दिन गएको थाहा पाईरहेका छैनन् अर्कोतिर विकासका बाधक मन्थरा रुपीहरु सूर्यलाई हत्केलाले छेके झै गरिरहेका छन्। बाह्र वर्षसम्म सर्वहारा जनताकै लागि लडियो तर अहिले धरपकड गरी अफवाह फैलाउने तथ्यहिन कुरा गर्नेहरुको अफवाह कतिदिन सम्म सहेर बसिरहने नेता जोशीको भनाई छ । समय कम छ, या त राजनीतिक सहमति खोजौं या लोकतान्त्रिक प्रक्रियाबाट निकासमा पुगौं। पानीलाई मुख्य एजेन्डा बनाएर सबैजना एकजुट बनेर यो योजना सफल पार्न आग्रह गर्दछु नेकपा लेकम गाउँपालिका कमिटि इन्चार्ज जोशीले भन्नुभयो ।

२०७७/०८/१८ गतेकै दिन कुणीमा लेकम सरकार मुर्दावादका नाराहरु पनि लगाए। उपभोक्ता समिति अध्यक्ष जयदेव भट्ट मुर्दावाद भन्ने नाराहरु पनि लगाए। जयदेव भट्टले आफु अध्यक्ष हुनुपर्ने र वहादुर सिंह खत्रीले आफु अध्यक्ष हुनुपर्ने अडान राख्दा पनि उपस्थितहरुले दुवैलाई छोडेर तेस्रो व्यक्तिलाई बनाउनुपर्छ भन्ने कुरा गरे तर भनेजस्तो भएन, स्थानीय उपभोक्ता केशवराज पन्तले भन्नुभयो, जयदेव भट्ट लगायतको उपभोक्ता समितिले नै काम गरिरहेको छ हामीलाई थाहा छ तर २०७७ असोज १४ गते कुनै उपभोक्तालाई जानकारी नदिइकनै किर्ते दस्तखत गरी विरोध पत्र खानेपानी कार्यालय कन्चनपुरमा बझाएछन् अर्का उपभोक्ता पुस्कर राज पन्तले भन्नुभयो, खानेपानी योजना सफल पार्न सबैले मिलेर जानुपर्ने र पहल गर्नेले नै योजनाको जिम्मेवारी पाउनु उपयुक्त हुने उपभोक्ताहरुको धारणा छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?