दार्चुला । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रूपमा विकास हुँदै गएको बताउनुभएको छ ।

पार्टीको ‘कोर अफ दि लिडरशिप’ का रूपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्ने भन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको पौडेलको भनाइ छ । पार्टीको आन्तरिक पाटोमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पनि उहाँले बताउनुभयो ।

बिहीबार न्युज एजेन्सीसँगको कुराकानीमा महासचिव पौडेलले सचिवालयले आफ्नो समीक्षा गर्दै भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ । त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देख्छु । यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वाभाविक रूपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ ।’

महासचिव पौडेलले आफ्नो अभिभारा सही ढङ्गले पूरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि हामी यो ढङ्गले भूमिका निर्वाह गर्न असक्षम र नसक्ने भएका हौँ भने स्थायी कमिटीका सदस्य समक्ष भनौँ । हामीले यति मात्रै गर्न सक्यौँ, यो भन्दा बढी गर्न नसक्ने भयौँ । हाम्रो अभिभारा ठिक ढङ्गले पूरा गर्न नसक्ने भयौँ । त्यसैले तपाईँहरु जिम्मेवारी सम्हाल्नका लागि तयार हुनुहोस्, हामी पदमुक्त हुन्छौँ ।’

हिजोको सचिवालय बैठकमा समेत जिम्मेवारी ठिक ढङ्गले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा आफूले राखेको उहाँले बताउनुभयो । पार्टी आन्तरिक जीवनमा गम्भीर, जटिल र सङ्कटग्रस्त भएको उल्लेख गर्दै उहाँले नागरिक र नेता कार्यकर्ताहरूले नचाहेका अपेक्षित घटनाहरु घटिरहेको बताउनुभयो ।

‘सीमा बाहिर, मर्यादा बाहिरका, तथ्य बाहिरका अभिव्यक्ति र क्रियाकलाप रोकिऊन् । पार्टी तथ्यको जडमा उभिएर सही निष्कर्षका साथ अगाडि बढोस् । त्यसका लागि अगाडि बढौँ भन्ने मेरो चाहना हो, त्यहीअनुसार जिम्मेवारी पूरा गर्न चाहन्छु ।’

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?