दार्चुला । उज्यालो नेपाल पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टीले यसलाई प्रतिबद्धतापत्र भनेको छ । सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।
आइतबार (फागुन ३) काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरे ।
प्रतिबद्धतापत्रमा प्रतिनिधिसभा सदस्य संख्या घटाएर २७५ बाट घटाएर २०१ बनाउने उल्लेख छ । राज्यलाई हुने आर्थिक भार कम हुने गरी सांसद संख्या घटाउने प्रतिबद्धता व्यक्त गरिएको अध्यक्ष घिसिङले बताए ।
त्यसैगरी प्रदेशसभा सदस्य संख्या पनि ५५० बाट घटाएर ३३० कायम राख्ने भनिएको छ । प्रदेश सरकारको स्थायित्वका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिनुपर्ने प्रतिबद्धतापत्रमा समावेश छ ।
यस्तै, संघीय सरकार १५ सदस्यीय र प्रदेश सरकार बढीमा सात सदस्यीय हुने तथा राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्था पनि आफूहरूले प्रतिबद्धतापत्रमा समावेश गरिएको अध्यक्ष घिसिङले बताए ।
“खर्च घटाउन प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ र प्रदेश सभा ५५० बाट ३३० मा कटौती गरिनेछ । संघीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय पाँचदेखि सातमा सीमित गर्ने र राज्यमन्त्री तथा सहायक मन्त्री नराख्ने व्यवस्था गरिएको छ,” उनले जानकारी दिए ।
प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणा समेत समेटिएको छ । साथै सरकार गठनपछि हरेक वर्ष प्रतिवद्धता कार्यान्वयनका प्रगति रिर्पोट सार्वजनिक गरिने प्रतिबद्धता पनि प्रतिबद्धतापत्रमा छ ।
यसका साथै, अर्थतन्त्र सुुदृढीकरण र रोजगारीका अवसर सिर्जना गर्नका लागि स्वदेशी पुँजी परिचालनमा जोड दिने नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।





प्रतिक्रिया