दार्चुला । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रतिनिधिसभा सदस्यहरूमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले बाँकी सदस्यहरूलाई शपथ गराउने कानुनी व्यवस्था छ ।
यसपटक ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ । उहाँ ७८ वर्षका हुनुहुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शीतल निवासमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । आज केसीले बाँकी सदस्यहरूलाई शपथ गराउन लाग्नुभएको हो ।
ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था २०४८ सालदेखि निरन्तर छ । २०१५ सालमा भने कार्यकारी अध्यक्षको रूपमा गिरीप्रसाद बुढाथोकीले शपथ गराउनुभएको थियो ।
प्रतिनिधि सभाको नियमावली, २०१६ को नियम १३ अनुसार प्रतिनिधि सभाको सभामुखको निर्वाचन नभएसम्मका लागि तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा तत्कालीन श्री ५ बाट गिरीप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्षको रूपमा मनोनयन गरिएको थियो । त्यसबेला बुढाथोकीले कार्यकारी अध्यक्षको रूपमा बाँकी सदस्यहरूलाई शपथ गराउनुका साथै प्रतिनिधि सभाको प्रथम अधिवेशनका दुईवटा बैठकको अध्यक्षता समेत गर्नुभएको थियो ।
तेस्रो बैठकमा नवनिर्वाचित सभामुख कृष्णप्रसाद भट्टराईलाई सभाका सचिव कुलशेखर शर्माले शपथ ग्रहण गराएपछि कार्यकारी अध्यक्षले नवनिर्वाचित सभामुखलाई अध्यक्षासन हस्तान्तरण गर्नुभएको थियो ।
२०४८ सालपछि भने प्रतिनिधिसभा सदस्यहरूलाई ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था भएको हो ।
नेपाल अधिराज्यको संविधान २०४७ को धारा ५१ को उप–धारा (३) मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उमेरका आधारमा ज्येष्ठ सदस्यले गर्ने प्रावधान थियो ।
त्यसबेला प्रतिनिधि सभाको आमनिर्वाचनपछिको पहिलो अधिवेशनको बैठकमा भाग लिनुअघि श्री ५ समक्ष शपथ लिनुपर्ने व्यवस्था गरिएको थियो । त्यसअनुसार श्री ५ बाट सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित नेपाली कांग्रेसका ७४ वर्षीय खलील मियाँलाई २०४८ साल असार ५ गते प्रतिनिधि सभा सदस्य पदको शपथ गराइएको थियो ।
त्यसपछि उहाँ मियाँले बाँकी सदस्यहरूलाई २०४८ साल असार ६ गते शपथ गराउनुभएको थियो ।
त्यसबेला सर्वप्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले, त्यसपछि मन्त्रीहरू, विपक्षी दलका नेता मनमोहन अधिकारीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिनुभएको थियो । तत्पश्चात अन्य सांसदहरूले १२ समूहमा समूहीकृत रूपमा शपथ लिनुभएको थियो ।
२०५१ सालमा प्रतिनिधिसभामा ज्येष्ठ सदस्य बलबहादुर राई हुनुहुन्थ्यो । त्यसबेला उहाँ ७२ वर्षका हुनुहुन्थ्यो । उहाँले नै बाँकी सदस्यहरूलाई शपथ गराउनुभयो र सभामुखको निर्वाचन नभएसम्मका लागि प्रतिनिधिसभा बैठकमा अध्यक्षता गर्नुभयो ।
२०५६ सालमा ज्येष्ठ सदस्य गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । त्यसबेला उहाँ ७५ वर्षका हुनुहुन्थ्यो । कोइरालाले २०५६ असार ४ गते नारायणहिटी राजदरबारमा प्रतिनिधि सभा सदस्यको शपथ लिनुभयो । त्यसपछि ज्येष्ठ सदस्य कोइरालाले २०५६ असार ६ गते समूहगत रूपमा अन्य सांसदहरूलाई शपथ गराउनुभएको थियो ।
२०६३ सालमा पुनर्स्थापित व्यवस्थापिका संसद् ज्येष्ठ सदस्य बलबहादुर राईको अध्यक्षतामा बसेको थियो । ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको व्यवस्थापिका–संसद्को दोस्रो बैठकबाट सुवास चन्द्र नेम्वाङ सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
२०६४ सालमा पहिलो संविधान सभाको निर्वाचन भयो । निर्वाचित सदस्यहरूमध्ये कुलबहादुर गुरुङ ज्येष्ठ सदस्य हुनुहुन्थ्यो । उहाँले २०६५ साल जेठ १४ गते संविधान सभाको सभाकक्षमा आयोजना गरिएको विशेष कार्यक्रममा उपस्थित सदस्यहरूका बीच पहिले आफूले शपथ लिनुभयो । त्यसपछि उहाँले बाँकी संविधान सभाका सदस्यहरूलाई सामूहिक रूपमा शपथ ग्रहण गराउनुभयो ।
२०७० सालको निर्वाचनपछि दोस्रो संविधान सभामा ज्येष्ठ सदस्य सूर्यबहादुर थापा हुनुहुन्थ्यो । उहाँले नै बाँकी सदस्यहरूलाई शपथ गराउनुभयो ।
२०७४ सालको निर्वाचनपछि प्रतिनिधिसभा सदस्यमा निर्वाचित महन्थ ठाकुर ज्येष्ठ सदस्य हुनुहुन्थ्यो । उहाँले बाँकी सदस्यहरूलाई शपथ गराउनुभयो र सभामुखको निर्वाचन नभएसम्मका तीनवटा बैठकको अध्यक्षता गर्नुभयो ।
२०७९ मा पशुपति शमशेर जबरा ज्येष्ठ सदस्य हुनुहुन्थ्यो । उहाँले नै बाँकी सदस्यहरूलाई शपथ गराउनुभएको थियो ।
यसपटक ज्येष्ठ सदस्यका रूपमा अर्जुननरसिंह केसी हुनुहुन्छ । उहाँले नै बाँकी सदस्यहरूलाई शपथ गराउन लाग्नुभएको हो ।





प्रतिक्रिया