दाचुृला । शैक्षिक सत्र सुरु हुनअघि नै दार्चुला, बाजुरा लगायत विभिन्न जिल्लामा पाठ्यपुस्तक पुगेको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा सामग्री केन्द्र, धनगढीले चैत ११ गते बसेको संयुक्त बैठकले चैत १६ देखि पाठ्यपुस्तक वितरण सुरु गर्ने निर्णय गरे अनुसार जिल्लामा किताबहरू पुगेका हुन् ।
दार्चुलामा धेरै विद्यालयको पुस्तक आइसकेको र आफुलाई प्राप्त पुस्तक बुझेर सम्बन्धित विद्यालयलाई बुझाउन थालिसकेको ऐडिबाग पुस्तक पसलका सञ्चालक कृष्णदेब जोशीले बताउनुभयो ।
शैक्षिक सत्र २०८३ मा सुदूरपश्चिमको दार्चुला र बाजुरालाई पहिलो चरणमा किताब वितरण गरिएको छ। चैत १६ गतेदेखी १८ गते बाजुरा र दार्चुला, १९–२१ गते बझाङ र अछाम, २२–२४ गते बैतडी–डोटी, २५ गते डडेल्धुरा, २६–२७ गते कञ्चनपुर, र २८–३० गते कैलालीलाई क्रमशः वितरण गरिएको बताइएका छ ।
गत वर्ष सुदूरपश्चिममा २१ करोड ९२ लाख ७३ हजार ४९४ रुपैयाँको लागतमा १६ लाख २९ हजार २६३ थान किताब वितरण गरिएको थियो। यस वर्ष भने कक्षा ४ बाहेक अन्य सबै कक्षाका किताब वितरण भइरहेको जनकशिक्षा केन्द्रले जनाएको छ।
दार्चुलाका विभिन्न पुस्तक विक्रेतामार्फत किताब वितरण कार्य भइरहेको छ । जनकशिक्षा सामाग्री केन्द्र, धनगढीका सूचना अधिकारी जितेन्द्र चौधरीका अनुसार यस वर्ष दार्चुला र बाजुरालाई सबैभन्दा पहिले पुस्तक उपलब्ध गराएको र बाँकी सबै जिल्लालाई समेत योजना अनुसार समयमै पुस्तक उपलब्ध गराइसक्ने तयारी छ ।




