दार्चुला । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।
उहाँले आफूसँग करिब तीन तोला सुन र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको उल्लेख गर्नुभएको छ ।
सो जग्गा २०५२ सालमा जम्मा ४ लाख जतिमा पदम पुनसँग मिलेर किनेको उहाँले उल्लेख गर्नुभएको छ । जग्गा प्राप्तिको स्रोतमा उहाँले स्वआर्जन (अमेरिकाबाट फर्किंदा बचेको पैसा) उल्लेख गर्नुभएको छ । सो जग्गा राष्ट्रिय आविष्कार केन्द्र सन्चालनका लागि बिक्रीमा राखेको तर अझै नबिकेको उहाँको भनाइ छ ।
करिब तीन तोला सुन २०६० सालतिर किनेको पुनले उल्लेख गर्नुभएको छ । तर प्राप्तिको स्रोतमा भने श्रीमतीलाई इष्टमित्रहरुले ‘उपहार दिएको’ जनाउनुभएको छ।
यसैगरी नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ जति र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ जति नगद मौज्दात रहेको विवरण पुनले सार्वजनिक गर्नुभएको छ। नेपाल बैंक लिमिटेडकमा रहेको ४ लाख रकम साथीहरुबाट व्यक्तिगत खर्चका लागि प्राप्त भएको र राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रकम प्रतिनिधि सभा निर्वाचन लड्दा सहयोगीहरुले दिएको चन्दाबाट बचेको उहाँल उल्लेख गर्नुभएको छ । यो रकम आफू निर्वाचित भएको म्याग्दी सदरमुकाम बेनीमा रहेको सम्पर्क कार्यालय सन्चालनमा खर्च गर्ने पनि उहाँले बताउनुभएको छ ।
यसबाहेक आत्मकथा पुस्तक हालसम्म २ लाख ५० हजार जति बेचेको र त्यसबाट प्राप्त सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखा सन्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रको नाममा नेपाल बैंक लिमिटेडमा जम्मा गरेको उहाँले बताउनुभएको छ ।
सांसद पुनले यीबाहेक आफूसँग ऋण, सवारी साधन, कृषि तथा पशुधन लगायत अन्य सम्पत्ति केही नभएको उल्लेख गर्नुभएको छ ।




