दार्चुला ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत कब्जा, नीतिगत विकृति तथा गलत अभ्यासलाई अन्त्य गर्न सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनुभएको छ ।
काठमाण्डाैमा आज आयाेजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले विगतमा भएका अनियमितता, दोहन लगायतका प्रतिवेदन अध्ययन गर्दा गम्भीर अवस्थाको अनुभूति हुने गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार सीमित समूहहरूले राजनीतिक र संस्थागत संरचनामा गरेको प्रभाव, नीतिगत सेटिङ तथा व्यवसायी र केही गलत राजनीतिक व्यक्तिहरूबीचको अस्वस्थ सम्बन्ध अन्त्य गर्न सरकार सक्रिय रहेको छ ।
सरकारले सुधार र पारदर्शितामुखी नयाँ शुरुआतको सङ्केत दिन खोजेको अर्थमन्त्री वाग्लेकाे भनाइ छ । उहाँले निजी क्षेत्रलाई विगतका कमजोरी दोहोरिन नदिन र गलत कार्यलाई संरक्षण नगर्न आग्रह गर्दै इमानदारिता र उत्तरदायित्वका आधारमा अघि बढ्न आह्वान गर्नुभयो ।
केही पक्षबाट सरकार कठोर बन्न खोजेको आशङ्का व्यक्त भए पनि त्यसमा सत्यता नरहेको भन्दै उहाँले सरकारले सुधारको प्रक्रिया सावधानीपूर्वक अघि बढाइरहेको उल्लेख गर्नुभयाे ।




