दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीलाई डर र त्रासमा नपर्न आग्रह गर्नुभएको छ । आइतबार निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा उहाँले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीतिगत सुधार गर्ने रहेको स्पष्ट पार्नुभयो ।

सभापति लामिछानेले सरकारको सुशासन अभियानमा साथ दिन आग्रह गर्दै सरकार उद्योगी व्यवसायीसँग सहकार्य गरेर नै अगाडि बढ्न चाहेको बताउनुभयो । यद्यपि, अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिमा भने राज्यले कडाइका साथ निगरानी राख्ने उहाँको भनाइ थियो । विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्ति केन्द्रको दबाबमा परेका घटनालाई सरकारले आत्मसात् गरेको उल्लेख गर्दै उहाँले अब त्यस्तो अवस्था नदोहोरिनेमा ढुक्क हुन आश्वस्त पार्नुभयो ।

व्यवसायीको मनोबल खस्किएको चर्चा चल्न थालेपछि आफूले छलफल अगाडि बढाएको बताउँदै उहाँले भन्नुभयो, “तपाईंहरू अलिकति पनि चिन्ता नगर्नुहोस् । सुशासनको एजेन्डालाई द्रुत गतिमा अगाडि बढाउँदा केही प्रश्न उठेका हुन सक्छन्, त्यसलाई सहज रूपमा लिनुहोला । सरकारको उद्देश्य कुनै पनि व्यवसायीलाई धराशायी बनाउने छैन ।”

उहाँले अर्थतन्त्रलाई नै सिध्याउने गरी भएका संस्थागत बेथितिमा भने राज्य निर्मम हुनुपर्ने उल्लेख गर्नुभयो । “विगतमा राजनीतिक अस्थिरताका कारण तपाईंहरू नेताका ढोका ढक्ढक्याउन र कतिपय मूल्य–मान्यता मिच्न बाध्य हुनुभयो होला, त्यो हामीले बुझेका छौँ,” लामिछानेले भन्नुभयो, “अब निर्धक्क हुनुहोस्, कुनै पनि व्यवसायीले मेरो घर वा पार्टी कार्यालय धाइरहनु पर्दैन । तपाईंहरूलाई नीतिले नै सुरक्षा दिनेछ ।”

सभापति लामिछानेले वर्तमान सरकार निर्वाचनका बेला जनतामाझ गरिएको वाचापत्रका आधारमा सञ्चालन हुने दाबी गर्नुभयो । उहाँले उद्योगीलाई आफ्ना कमीकमजोरी मूल्याङ्कन गर्न र आन्तरिक लेखापरीक्षण गरी विगतका गल्ती सच्याउन राज्यसँग सहकार्य गर्न सुझाव दिनुभयो ।

नीतिगत सुधार, सुशासन र आर्थिक सुधार नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै उहाँले ५–७ वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । सरकार लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेकोले निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न उहाँले आह्वान गर्नुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?