स्थानीयदेखि देश र दुनियाँका सबै ताजा प्रमुख समाचार (भिडियोसहित)

दार्चुलादार्चुलामा घरको छतबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको ज्यान गएको छ । जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा महाकाली नगरपालिका वडा नम्बर ७ धापका २५ वर्षीय विरेन्द्र रैखोलाको मृत्यु भएको हो । धापकै झुसे ओडको घरमा वाइरिङ गर्ने क्रममा छतबाट लडेर घाईते भएका रैखोलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

विहिबार लेकम गाउँपालिकाको केन्द्र रातामाटामा प्रहरी चौकी उद्धघाटन गरिएको छ । लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथ्यततामा आयोजित कार्यक्रमका बिच प्रहरी चौकीको उद्धघाटन गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । गाउँपालिकाको माग, जिल्ला सुरक्षा समितिको सिफारिस तथा गृह मन्त्रालयको अनुमतिमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गाउँपालिका अध्यक्ष परमानन्द जोशी लगायतको निरन्तरको पहलका कारण प्रहरी चौकी स्थापना गरिएको डिएसपी मनोहर भट्टले बताउनुभयो । उहाँले सामाजमा रहेका बिकृति, बिसंगति न्यूनिकरण गर्न नागरिक आफै सचेत हुनु जरुरी रहेकोमा जोड दिनुभयो । जुवातास, मदिरा, झैझगडा लगायत गतिविधिमा कडाइका साथ रोक लगाइने उहाँको भनाई छ । नागरिकपनि बिना बर्दीका प्रहरी भएकोले प्रहरीलाई सूचना दिएर सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ । प्रहरी चौकी उद्धाघन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एबं गाउँपालिका अध्यक्ष परमानन्द जोशीले अब छिटै गाउँपालिकाको कार्यालय समेत रातामाटाबाटै सञ्चालन हुने बताउनुभयो । उहाँले समसामयिक विषयबस्तु र गाउँपालिकाको विकास निर्माण तथा प्रहरी चौकीको स्थापनामा गरिएको पहलका विषयमा सम्बोधनका क्रममा जानकारी गराउनुभएको थियो ।

हिमाली जिल्ला दार्चुलाका १८ वर्षमाथिका सबै नागरिकलाई असोज १० गतेदेखि १४ गतेसम्म कोरोना खोप लगाइने भएको छ । स्वास्थ्य विभागको निर्णय बमोजिम बिहीवार बसेको कोभिड—१९ खोप समन्वय तथा अनुगमन समिति दार्चुलाको बैठकले १८ वर्षमाथिका पहिलो मात्रा लगाउन बाँकी सबै नागरिकलाई भेरोसेल खोप लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो । दार्चुलाका लागि ४० हजार डोज भेरोसेल खोप उपलब्ध भएका छ । यस्तै जोन्सन एण्ड जोन्सन खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दार्चुलाका आधादर्जन बढी सडक खारेज गरेको छ । केपी सर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट विनियोजन गरेका सडक योजनाबाट वर्तमान सरकारले बजेट कटौती गरेको हो । दार्चुला जिल्लाका चार वटा अन्तरपालिका जोड्ने सडक र तीन वटा गाउँपालिकाका केन्द्र जोड्ने सडकबाट बजेट कटौती गरिएको हो । दार्चुलाका खारेजीमा परेका सडक योजनाहरुमा विटुले–पारिबगर–खण्डेश्वरी सडक, भर्तोला–उकु सेरा सडक, पारिबगर–परमचुला सडक र तिमुरपाटा–बनानी सडक रहेका छन् । यस्तै गोकुलेश्वरबाट उचाकोट हुँदै लेकम गाउँपालिकाको केन्द्र जोड्ने सडक, अपिहिमाल र व्याँस गाउँपालिकाको केन्द्र जोड्ने सडकको बजेट समेत कटौती गरिएको छ । एमाले नेतृत्वको सरकारले सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडकमार्ग विस्तार गर्ने योजना अन्तरगत दार्चुलाका तीन वटा स्थानीय तहका केन्द्र जोड्ने सडक छनोट भएका थिए ।

दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले राजनीतिक गतिविधि बढाउन थालेको छ । बुधबार आयोजित नगर कमिटीको बैठकमा नेपाली कांग्रेश परित्याग गरी युवा व्यापारी रमेश बिष्ट (बैदार) सहित १० जना कार्यकर्ता नेकपा एमाले प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एबं नगर इन्चार्ज बिजयसिह धामीले जानकारी दिनुभयो ।

नौगाड गाउँपालिका वडा नम्बर ४ मा रहेको होपरिगाड जलविद्युत आयोजना मर्मत गरेपछि सञ्चालनमा आएको छ । विगत १०÷१२ दिनदेखी मोटरमा खराबी आएर बन्द रहेको जलविद्युत विहिबारदेखि सञ्चालनमा आएको आयोजनाका अध्यक्ष कालु महताले जानकारी दिनुभयो । विहिबार बसेको भेलाले विद्युत व्यवस्थापन सम्बन्धि विभिन्न निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा र मन्त्रीहरुलाई भेटेर प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडू नेतृत्वको टोलीले दुहुँका बाढी पहिरो प्रभावित बस्तिलाई स्थानान्तरणका लागी आग्रह गरेका छन् । प्रतिनिधिसभा सदस्य बडू, सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशी, जिल्ला समन्वय समिति प्रमुख करबिरबहादुर कार्की र दुहुँ गाउँपालिकाका जनप्रतिनिधीहरुको टोलीले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीलाई भेटेर बाढी पहिरोले क्षतविक्षत पारेको वडा नम्बर २ र ५ का विभिन्न बस्तिहरु स्थानान्तरणका लागी आवश्यक पहल गरिदिन अनुरोध गरेका हुन् । गाउँपालिकाको टोलीले सरकारसँग घरबार बिहिनलाई बस्ती स्थानान्तरण, घर जग्गाको विकल्प भएका बाढी पिडितलाई घर निर्माणका साथै मर्मतयोग्य घरहरुलाई मर्मत सम्भार गर्नका लागि सहयोग गर्न अनुरोध गरिएको छ ।

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ लेकडाणाका ५५ वर्षीय कमल सिह महराको हत्या प्रकरणको प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलबाटै प्रारम्भिक अनुशन्धान सुरु गरेको प्रहरीले ५ जनालाई नियनत्रणमा लिएको जनाएको छ । उनिहरुलाई सोधपुछको तथा अनुसन्धानका लागि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक राजेश शाहीले बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका कांग्रेस नेता तथा कार्यकर्ताहरू रिले अनशनमा बसेका छन । धाँधलीपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर जबरजस्ती वडा अधिवेशन गराइएको भन्दै उनीहरूले बिहीबारदेखि रिले अनशन शुरु गरेका हुन् । वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराइए पनि पनि कुनै सुनुवाई नहुँदा बाध्य भएर अनशनमा बस्नु परेको डडेलधुरा कांग्रेसका उपसभापति करूणाकर भट्टले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सनदबाट पारित भएको विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सनदबाट पारित भएको विनियोजन विधेयक २०७८ संविधानको धारा ११३ को उपधारा २ अनुसार प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । विनियोजन विधेयक २०७८ प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।

इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिकै पर्ने नाग्दी खोलाबाट विहीवार मध्यरातमा एक कार त्रिशुली नदीमा खसेको छ । पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडक खण्ड अन्र्तगत नाग्दी खोलाबाट राती करिव साढे बाह्र बजे खसेको सो कारमा यात्रा गर्ने ३ जना वेपत्ता छन् भने एक जना घाइते भएका छन् ।

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) देखि सुरु हुँदै छ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि भोलिसम्म छलफल हुने छ । बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तामाङको भनाइ छ ।

दशैँका लागि काठमाण्डौ उपत्यकाबाट बाहिरिनेहरूका लागि यही असोज ११ गतेदेखि लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले आज बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको योजना रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसले दार्चुलासहित हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिका अनुसार जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो । कांग्रेसले हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला सूचीमा राखेको छ । ती जिल्लामा दसैँअघि नै र अरु जिल्लामा दसैँपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको छ ।

झण्डै एक चौथाइ हाराहारीको शक्ति लिएर विभाजित भएको नेकपा एकीकृत समाजवादीले एमालेकोभन्दा जम्बो पार्टी कमिटी बनाएको छ । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । नेकपा (एस)ले २१ सदस्यीय पदाधिकारी, ३५ सदस्यीय स्थायी कमिटी बनाएको छ । ७१ सदस्यीय पोलिटब्युरो, ७ सय १ सदस्यीय केन्द्रीय परिषद् गठनको पनि निर्णय लिएको छ । बैठकले प्रदेश इन्चार्जहरू पनि तोकेको छ । यस्तै, केन्द्रीय विभागहरू २५ सदस्यीय, सल्लाहकार समिति १५१ सदस्यीय बनाउने निर्णय गरेको छ । जेष्ठ कम्युनिष्ट मञ्च–१५१ सदस्यीय हुने र केन्द्र बाहेक सबै कमिटीमा दुई अध्यक्ष रहने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टीको पदाधिकारी बनाउनको लागि मान्छे नपाएको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एजेण्डा मिल्नेसँग एकताका लागि प्रयास भइरहेको बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात् गर्न चाहेको बताउनुभएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर १२ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, थप १३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ ।

नाइजेरियाको एक उत्तरी प्रान्तमा गएको मार्च महिनादेखि सुरु भएको हैजाको प्रकोपका कारण कम्तीमा पनि ३२९ जनाको ज्यान गएको छ।

राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ज्ञानेन्द्र आबद्ध ललितपुर प्याट्रिओट्सले आज बिहीवार एक विज्ञप्ति निकाल्दै यो जानकारी दिएको हो । प्याट्रियट्सका कप्तानसमेत रहेका ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै ईपीएल नखेल्ने जनाएका विज्ञप्तिमा जनाइएको छ ।

स्थानीयदेखि देश र दुनियाँका सम्पूर्ण खबर हेर्नका लागि यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?